योजनावद्ध विकास निर्माण र रूपान्तरणको मार्गमा भरतपुर
भरतपुर महानगरपालिका बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित नेपालकै एक प्रमुख, गतिशील र सम्भावनायुक्त महानगर हो । देशको मध्यभागमा अवस्थित यो महानगर पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक जस्ता राष्ट्रिय महत्वका यातायात मार्गहरूको संगमस्थलमा रहेको छ, जसले यसलाई व्यापार, यातायात र आवागमनको केन्द्रका रूपमा स्थापित गरेको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले सम्पन्न भरतपुर आज “मध्य नेपालको सुन्दर शहर” को पहिचान बनाउँदै अघि बढिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, देवघाटधाम, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, कृषि तथा वन विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय महत्वका सम्पदा र संस्थाहरूको उपस्थितिले भरतपुरलाई पर्यटन, स्वास्थ्य र शैक्षिक हबको रूपमा उभ्याएको छ । प्राकृतिक सौन्दर्य र आधुनिक शहरी विकासको सन्तुलित संयोजन भरतपुरको प्रमुख विशेषता हो । संघीय शासन प्रणाली कार्यान्वयन पश्चात भरतपुर महानगरपालिका स्थानीय शासन, सेवा प्रवाह र विकास व्यवस्थापनमा अग्रणी भूमिकामा देखिँदै आएको छ । यहाँको जनसंख्या विविध जाति, भाषा, संस्कृति र परम्पराले भरिपूर्ण छ, जसले सामाजिक सद्भाव, सह–अस्तित्व र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाएको छ । कृषि, उद्योग, व्यापार, पर्यटन र सेवा क्षेत्र भरतपुरको आर्थिक मेरुदण्ड हो । पछिल्ला वर्षहरूमा शहरीकरण, पूर्वाधार विस्तार र लगानीमैत्री वातावरणले भरतपुरलाई तीव्र गतिमा विकसित महानगरको रूपमा स्थापित गरेको छ । भरतपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, सामाजिक सुरक्षा, महिला तथा बालबालिका सशक्तीकरण, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई विकासको मुख्य आधारको रूपमा अघि सारेको छ । स्मार्ट सडक वत्ती, हरियाली प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन, डिजिटल सेवा विस्तार जस्ता कार्यक्रमहरूले दिगो शहरी विकासतर्फ महानगरको प्रतिवद्धता स्पष्ट झल्कन्छ ।
आजको नेपाल आर्थिक रूपान्तरण, सुशासन, सामाजिक न्याय र दिगो विकासका चुनौतीहरूबीच अघि बढिरहेको सन्दर्भमा भरतपुर महानगरपालिका सम्भावना र अभ्यासको उदाहरण बनेको छ । नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राख्दै अघि बढेको भरतपुरको विकास यात्रा केवल स्थानीय स्तरमा सीमित नभई राष्ट्रिय विकासको दिशानिर्देशकका रूपमा समेत महत्वपूर्ण छ । समृद्ध, सुरक्षित, समावेशी र वातावरणमैत्री महानगर निर्माण गर्ने दृढ संकल्पका साथ भरतपुर महानगरपालिका भविष्यतर्फ आत्मविश्वासका साथ अग्रसर भइरहेको छ ।
भरतपुर महानगरपालिकाले आ.व. २०८१÷०८२ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति सार्वजनिक सुनुवाइमार्फत नागरिकसामु प्रस्तुत गरेको प्रतिवेदन केवल औपचारीक विवरण मात्र होइन, स्थानीय शासन, विकास र उत्तरदायित्वको जीवन्त दस्तावेज हो । यसरी नै महानगरले प्रत्येक वर्ष महानगरवासीको मागलाई ध्यानमा राख्दै यस्ता सार्वजनिक सुनुवाईका कामहरु गर्दै आएको छ, भने महानगरका सम्पूर्ण महत्वपूर्ण कामको लागि महानगरवासीको साथ सहयोग, छलफल गर्दै आएको छ । सुशासन, पारदर्शिता र सहभागितामूलक लोकतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले अघि बढिरहेकको भरतपुर महानगरको वर्तमान अवस्था, उपलब्धी र भावी दिशालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
पूर्वाधार विकासमा भरतपुर
भरतपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै सडक, भवन, खेलकुद संरचना तथा शहरी सौन्दर्यीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । दिगो र योजनावद्ध शहरी विकासको अवधारणालाई आत्मसात् गर्दै महानगरले आधुनिक, सुरक्षित र सुविधासम्पन्न शहर निर्माणतर्फ निरन्तर प्रयास गरिरहेको छ । महानगरको गौरवको आयोजनाका रूपमा रहेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केवल खेलकुद पूर्वाधार मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सक्षम संरचनाका रूपमा विकास भएको छ । यसले खेल पर्यटन प्रवद्र्धन, युवा प्रतिभा पहिचान तथा स्थानीय व्यवसायमा प्रत्यक्ष आर्थिक गतिविधि सिर्जना गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा निर्माणाधीन आधुनिक प्रशासकीय भवनले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ ।
सडक पूर्वाधारतर्फ ६ लेन सडक, वाइपास सडक तथा महानगरीय चक्रपथ जस्ता आयोजनाहरूले भरतपुरको यातायात व्यवस्थापनमा आमूल परिवर्तन ल्याएको छ । फराकिला, सुरक्षित र सुन्दर सडकहरूले सवारी आवागमन सहज बनाउनुका साथै व्यापार, उद्योग र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको छ । सडक किनारमा गरिएको हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणले शहरी वातावरणलाई आकर्षक र वातावरणमैत्री बनाएको छ । सामाजिक तथा सांस्कृतिक पूर्वाधारतर्फ विद्युतीय शवदाह गृह जस्ता परियोजनाले धार्मिक आस्था र आधुनिक प्रविधिको सन्तुलन कायम गर्दै वातावरण संरक्षणमा योगदान पु¥याएको छ । यस प्रकारका संरचनाहरूले परम्परागत अभ्यासलाई सम्मान गर्दै समयअनुकूल सेवाको सुनिश्चितता गरेको देखिन्छ । समग्रमा, यी पूर्वाधार परियोजनाहरूले भरतपुरलाई केवल भौतिक रूपमा विकसित शहर मात्र होइन, आर्थिक रूपमा गतिशील, सामाजिक रूपमा समावेशी र वातावरणीय दृष्टिले दिगो महानगरको रूपमा उभ्याएको छ । पूर्वाधार विकासका माध्यमबाट रोजगारी सिर्जना, स्थानीय उत्पादन र सेवा क्षेत्रको विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा भरतपुर महानगरपालिकाको योगदान उल्लेखनीय रहेको छ ।
शिक्षामा भरतपुरको लगानी
शिक्षा क्षेत्रमा भरतपुरले गुणस्तर सुधारलाई प्राथमिकता दिएको छ । सामुदायिक विद्यालयको नतिजा सूधार, छात्रवृत्ति विस्तार, खेलकुद र प्रविधिमैत्री शिक्षा कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पु¥याएको छ । हालको नेपालमा युवा पलायन, बेरोजगारी र सीप अभाव ठूलो चुनौती बनेको अवस्थामा स्थानीय तहबाट शिक्षा र सीपमा गरिएको लगानी भविष्य निर्माणको आधार हो । महानगरले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सूधारको लागि सबै माध्यमिक र आधारभूत विद्यालयका प्रधानाध्यापकहरूसँग माध्यमिक शिक्षा परीक्षा (एसईई) र आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको नतिजा सूधारको लागि लक्ष्य निर्धारण सहित नतिजा विश्लेषण र करार सम्झौता गरिएको छ । गत वर्षको औसत उत्तीर्ण दर ४६.६९ प्रतिशतमा २० प्रतिशत वृद्धि भई ६५.८६ प्रतिशत कायमभई माध्यमिक तहको नतिजामा उल्लेख्य सुधार आएको छ । विद्यालय र विद्यार्थीलाई गुणस्तरीय शिक्षाको लागि महानगरले यस्ता थुप्रै किसिमका कार्यक्रमहरु अघि बढाएको छ ।
स्वास्थ्य र सामाजिक सुरक्षा : नागरिकको भरोसा
महिला, बालबालिका तथा समाजकल्याण, संघ–संस्था समन्वय, सामाजिक सुरक्षा र पञ्जीकरणका क्षेत्रमा भरतपुर महानगरपालिकाले तथ्यमा आधारित र परिणाममूखी हस्तक्षेप गर्दै समावेशी विकासलाई संस्थागत गरेको छ । चालु आर्थिक वर्षमा मात्र १,१४२ जना छोरीहरू बीमा कार्यक्रमबाट लाभान्वित भएका छन् भने ९४ मृतक तथा वेपत्ता परिवारलाई रु.२२.५६ लाख जीवन निर्वाह सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न २,५५३ जनालाई अपाङ्गता परिचयपत्र, १२५ जनालाई निःशुल्क स्वास्थ्य बीमा तथा ५४५ जनालाई छात्रवृत्ति, सहायक सामग्री र सीप सहयोग उपलब्ध गरेको छ । सामाजिक समावेशीकरण प्रवद्र्धन गर्दै हालसम्म ३८ वटा अन्तरजातीय विवाहलाई सम्मानित गरेको छ । पालिकाले ५ वटा वडा बालमैत्री वडा घोषणा भएको छ । बाल संरक्षणतर्फ २९ बालबालिकामध्ये १६ जनालाई परिवारमा पुनस्र्थापना गरेको छ भने अति विपन्न महिलामध्ये ४५ जनालाई उद्यमशीलता प्रविधि हस्तान्तरण गरेको छ । समुदायस्तरमा संघ–संस्थाको सहकार्यमा १,३६५ जनालाई सचेतनामूलक कार्यक्रम, सामाजिक सुरक्षा अन्तर्गत ३०,४२२ लाभग्राहीलाई रु.१ अर्ब २० करोड भत्ता, र पञ्जीकरण प्रणालीमा ३,८३७ जन्म तथा १,७३५ मृत्यु दर्ता सम्पन्न भएको छ । यी तथ्याङ्कहरूले भरतपुर महानगरपालिकाले सामाजिक सुरक्षा, मानव अधिकार र दिगो सामाजिक विकासलाई व्यवहारमा उतार्दै आएको स्पष्ट गर्दछ ।
यस्तै नसर्ने रोगको परीक्षण, महिला प्रजनन स्वास्थ्य शिविर, पूर्ण खोप सुनिश्चित महानगर घोषणा, विपन्न र दीर्घरोगीका लागि उपचार सहयोगले स्थानीय सरकार नागरिकको जीवनस्तरप्रति संवेदनशील छ । संघीय संरचनामा स्थानीय तहले स्वास्थ्य सेवा नागरिकको नजिक पु¥याउनु आजको नेपालको प्रमुख आवश्यकता हो, जसमा भरतपुर उदाहरणीय नगरपालिका बनेको छ ।
कृषि, पशुपालन र स्थानीय भरपर्दो अर्थतन्त्र
कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भर, व्यवसायिक र दिगो बनाउने दिशामा भरतपुर महानगरपालिकाले गरेका पहलहरू स्थानीय अर्थतन्त्र सुदृढीकरणका दृष्टिले अत्यन्त महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । साना तथा मध्यम किसानलाई केन्द्रमा राखी सिँचाईं पूर्वाधार विस्तार, उन्नत जातका बीउबिजन वितरण, माटो परीक्षण, पशु स्वास्थ्य उपचार, कृत्रिम गर्भाधान, खोप कार्यक्रम तथा दुग्ध उत्पादनमा आधारित अनुदानजस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरेको छ । यी कार्यक्रमहरूले उत्पादन लागत घटाउनुका साथै उत्पादन वृद्धि र गुणस्तर सूधारमा समेत उल्लेखनीय योगदान पु¥याएको छ ।
पशुपालन क्षेत्रतर्फ दुग्ध उत्पादक किसान तथा सहकारीहरूलाई लक्षित गरि दुग्ध अनुदान, गोठ सूधार, पशु आहार व्यवस्थापन, पशु उपचार तथा प्राविधिक सहयोग उपलब्ध गराइँदा किसानको नियमित आम्दानी सुनिश्चित भएको छ । सहकारी प्रवद्र्धनमार्फत किसानलाई संगठित गर्दै बजार पहुँच विस्तार, मूल्य स्थिरता र वित्तीय समावेशीकरणमा पनि टेवा पुगेको छ । हाल नेपाल आयातमुखी अर्थतन्त्रको चाप, खाद्यान्न तथा दुग्धजन्य वस्तुको बढ्दो आयात र ग्रामीण क्षेत्रबाट श्रम पलायनजस्ता चुनांैतीहरूको सामना गरिरहेको अवस्थामा भरतपुर महानगरपालिकाकाले कृषि तथा पशुपालन कार्यक्रमहरूमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ । कृषितर्फ बाली उत्पादन र पशुपालनलाई ग्रामीण तहलाई शहरी अर्थतन्त्रसँग जोड्दै ग्रामीण–शहरी सन्तुलन कायम गर्ने, रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनको उपभोग बढाउने दिशामा भरतपुरको अभ्यास अनुकरणीय बनेको छ । यसले दीर्घकालमा स्थानीय अर्थतन्त्रलाई सवल बनाउँदै समग्र राष्ट्रिय आर्थिक स्थायित्वमा योगदान पु¥याएको छ ।
सुशासन, न्याय र प्रशासनिक सूधार
सुशासन, न्याय र प्रशासनिक सूधारको क्षेत्रमा भरतपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा महत्वपूर्ण र व्यवहारिक पहलहरू गर्दै आएको छ, जसले स्थानीय शासन प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै लगेको स्पष्ट संकेत गर्दछ । न्यायिक समितिको सक्रिय सञ्चालनमार्फत स्थानीय तहमा उत्पन्न सामान्य प्रकृतिका विवादहरू मेलमिलाप र सहमतिका माध्यमबाट समाधान गरिँदै आएको छ, जसले नागरिकलाई छिटो, सुलभ र न्यून लागतमा न्यायमा पहुँच पु¥याएको छ ।
एजूरी व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउँदै हेल्लो सरकार, इमेल, उजूरी पेटिका तथा प्रत्यक्ष निवेदनमार्फत प्राप्त गुनासाहरूको समयमै फछ्र्यौट गर्ने अभ्यासले प्रशासनप्रति नागरिकको विश्वास अभिवृद्धि गरेको छ । बजार अनुगमन, उपभोक्ता हित संरक्षण तथा मापदण्डविपरीतका क्रियाकलापमाथि गरिएको निगरानीले सुशासन र उपभोक्ता अधिकार संरक्षणमा सकारात्मक प्रभाव पारेको छ ।
डिजिटल सेवाको विस्तार
राष्ट्रिय परिचयपत्र वितरण, नागरिक घटना दर्ताको डिजिटाइजेशन तथा भू–उपयोग नक्सा र जग्गा व्यवस्थापनसम्बन्धी मापदण्डको कार्यान्वयनले सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाएको छ । यी सूधारहरूले प्रशासनिक झन्झट घटाउनुका साथै भ्रष्टाचार न्यूनीकरण र समय तथा लागत बचतमा योगदान पु¥याएको छ । आजको नेपालमा भ्रष्टाचार नियन्त्रण, कानूनी पहुँचको सुनिश्चितता, सेवाको सरलता र निष्पक्ष प्रशासन नागरिकको प्रमुख चाँसोको विषय बनेको छ । यस सन्दर्भमा स्थानीय तहबाट गरिएको प्रत्यक्ष र प्रभावकारी पहलहरूले संघीय शासन प्रणालीको मर्मलाई व्यवहारमा उतार्दै नागरिक र राज्यबीचको सम्बन्धमा थप सुदृढ बनाएको छ । सुशासनप्रतिको निरन्तर प्रयासको कारण भरतपुर महानगरपालिका उत्तरदायी र विश्वसनीय स्थानीय सरकारको रूपमा स्थापित हुँदै दीर्घकालीन विकासको लागि मजबुत आधारस्तम्भको रुपमा आफूलाई उभ्याएको छ ।
समसामयिक नेपाल र भरतपुरको भूमिका
आज नेपाल आर्थिक दबाव, वैदेशिक रोजगारीमा निर्भरता, शहरीकरणको चाप र जलवायु परिवर्तनका चुनांैतीहरुबीच उभिएको छ । यस्तो परिस्थितिमा भरतपुर महानगरपालिकाले दिगो विकास, हरियाली प्रवद्र्धन, विपद् व्यवस्थापन र रोजगारी सिर्जनामा देखाएको सक्रियता राष्ट्रिय स्तरमै अनुकरणीय छ । स्थानीय तह बलियो भएमात्र संघीय नेपाल सवल बन्छ भन्ने सन्देश भरतपुरको प्रगतिले दिएको छ ।
समृद्ध भरतपुर, समृद्ध नेपाल
समग्रमा हेर्दा, भरतपुर महानगरपालिका योजनाको तर्जुमाबाट कार्यान्वयनसम्म, प्रतिवद्धताबाट प्रत्यक्ष परिणामसम्म पुग्ने स्पष्ट र सुदृढ यात्रामा अग्रसर छ । विकासको हरेक चरणमा नागरिक सहभागीता, पारदर्शिता र उत्तरदायित्वलाई मूल आधारका रूपमा स्थापित गर्दै महानगरपालिकाले स्थानीय शासनलाई प्रभावकारी र विश्वासयोग्य बनाउन निरन्तर अघि बढेको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सुशासन, वातावरण संरक्षण र रोजगारी सिर्जनाको क्षेत्रमा भएको उपलब्धिहरूले भरतपुरलाई केवल प्रशासनिक इकाई मात्र नभई समग्र विकासको नमूना महानगरका रूपमा स्थापित गरेको छ । आजको नेपाल आर्थिक रूपान्तरण, सामाजिक समावेशीकरण र दिगो विकासका बहुआयामिक चुनौंतीहरूसँग जुधिरहेको सन्दर्भमा भरतपुर महानगरपालिकाले अपनाएको योजनावद्ध, समन्वयात्मक र परिणाममूखी अभ्यासले राष्ट्रिय स्तरमै महत्वपूर्ण सन्देश दिएको छ । स्थानीय तह सशक्त, सक्षम र उत्तरदायी भएमा संघीय शासन प्रणाली प्रभावकारी बन्छ भन्ने कुराको पुष्टि भरतपुरको कार्यक्रम र उपलब्धिहरूले पुष्टि गर्छ ।
नागरिकको विश्वास, जनप्रतिनिधिको प्रतिवद्धता र कर्मचारी संयन्त्रको क्रियाशीलताबीचको सहकार्यलाई निरन्तरता दिँदै विकासका अभ्यासहरू सुदृढ रूपमा अघि बढाइएमा ‘‘समृद्ध र सुसंस्कृत भरतपुर’’ भन्ने दीर्घकालीन सोँच केवल नारा वा कल्पनामा सीमित रहने छैन, बरु व्यवहारिक यथार्थका रूपमा साकार हुनेछ । भरतपुर महानगरपालिकाले अवलम्बन गरेको सफल अभ्यास, सुशासनको मोडेल र समावेशी विकासको दृष्टिकोण नै समृद्ध नेपालको आधारशिला बन्नेछ ।


लेखकको सम्वन्धमा