फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
स्याङ्जा । फेदीखोला गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत तथा करार शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ।
गाउँपालिकाको आयोजनामा आज सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण तथा शिक्षक र गाउँपालिकाबीच सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि सम्झौता कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देउकुमारी गुरुङको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा शाखा, रोजगार शाखाका कर्मचारी तथा सम्बन्धित शिक्षकहरूको सहभागिता थियो।
फेदीखोला गाउँपालिकाले गत आर्थिक वर्ष २०८२÷८३ को सुरुवातदेखि नै विद्यालयमा कार्यरत आईटी शिक्षक, विज्ञान शिक्षक, लेखा कर्मचारी, प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी) शिक्षक तथा कार्यालय सहयोगीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै आएको थियो। अघिल्लो कार्यक्रममा समेटिन नसकेका अस्थायी, राहत तथा करार शिक्षकलाई चालु आर्थिक वर्षको कार्यक्रममा समेटी सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम फेदीखोला गाउँपालिकाको सपना, जग र राजनीतिक प्रतिबद्धता भएको बताए। सीमित आर्थिक स्रोतका बाबजुद दृढ इच्छाशक्ति, दीर्घकालीन दृष्टिकोण र दूरगामी योजनाका साथ कार्यक्रम कार्यान्वयनमा अघि बढाइएको उनको भनाइ थियो।
अध्यक्ष सुवेदीले स्थायी, अस्थायी तथा करार कर्मचारीबीचको विभेद अन्त्य गर्दै सबैको मनोबलमा एकरूपता ल्याउने, कार्यसम्पादनलाई उत्कृष्ट बनाउने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक सुरक्षा कार्यक्रम अघि बढाइएको बताए। शिक्षकको भविष्य सुरक्षित बनाउने अभियानसँगै यस कार्यक्रमले राष्ट्रिय बहसको सुरुवातसमेत गरेको उनको दाबी थियो।
संघीय संरचनापछि संविधानले अघि सारेको समाजवादउन्मुख अवधारणालाई स्थानीय सरकारले व्यवहारमा कार्यान्वयन गर्ने प्रयासस्वरूप सामाजिक सुरक्षा कार्यक्रम अघि बढाइएको बताउँदै अध्यक्ष सुवेदीले शिक्षकहरूको महत्वपूर्ण आवाज केन्द्र सरकारसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागी शिक्षकहरूले गाउँपालिका नेतृत्वप्रति आभार व्यक्त गर्दै सीमित स्रोतसाधनका बाबजुद शिक्षकको मनोबल उच्च बनाउन र प्रोत्साहन प्रदान गर्न स्थानीय सरकारले सामाजिक सुरक्षा कार्यक्रम अघि बढाउनु सकारात्मक भएको बताए।
शिक्षकहरूले फेदीखोला गाउँपालिकाले विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रका विभिन्न गतिविधिमा नमुना काम गरिरहेको उल्लेख गर्दै शिक्षक प्रोत्साहनका लागि केन्द्र सरकारले अपेक्षित ध्यान नदिएको अवस्थामा स्थानीय सरकारले गरेको यो पहल महत्वपूर्ण रहेको बताए। सामाजिक सुरक्षामा आबद्ध भएपछि आफूहरूलाई स्थानीय सरकारको साथ र संरक्षणको अनुभूति भएको उनीहरूको भनाइ थियो।
गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा शिक्षक तथा कर्मचारीको आबद्धतालाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।


लेखकको सम्वन्धमा