सङ्खुवासभा कांग्रेस सभापतिमा खड्का

नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित हुनुभएको छ । एक हजार १९८ मत ल्याएर खड्का विजयी हुनुभएको हो भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गर्नुभएको छ । खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गर्नुभएको हो । खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्री हुनुभएको थियो ।
उपसभापतिमा रामकुमार जिमी ९१६, अनन्त गौली ६७०, सचिवमा टकमान घले एक हजार ४५ र कुमारबाबु अधिकारी ७४३ ल्याएर विजयी हुनुभएको छ । सहसचिवमा किशोरकुमार गुरुङ ६६७ र सुवास कालाखेती ६०५ मत ल्याएर विजयी हुनुभएको छ । जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि शनिबार मतदान भएको थियो । जिल्ला कार्यसमितिमा ४२ र केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २६ पदका लागि मतदान भएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना आइतबार रातिबाट रोकिएको छ । –––
प्रतिकृया दिनुहोस्