‘सुर्यवंशी मल्लहरुको इतिहास’ भित्र के छ ? कृष्ण मल्लले यसरी गरे चिरफार

‘सुर्यवंशी मल्लहरुको इतिहास’ भित्र के छ ? कृष्ण मल्लले यसरी गरे चिरफार

 

नेपाल एक प्राचीन सभ्यता बोकेको देश हो । नेपालको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने पौराणिक कालदेखि नै नेपाल अस्तित्वमा रहेको छ । पौराणिक कालखण्डका सत्य, त्रेता, द्वापर र अहिले भनिने कलियुग सम्म विभिन्न भूगोल र नाम हुँदै वर्तमानमा नेपाल देशको अस्तित्व कायम रहेको पाइन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेतामा तपोभूमि, द्वापरमा मुक्तिस्वपान र कलि युगमा यज्ञ देशको उपमा दिइएको शास्त्रहरुमा उल्लेख छ ।

कलियुगका पनि विभिन्न चरणहरु मध्ये अहिले द्वापरको अन्त्य अवस्थाको कलिको प्रथम चरण हो । जसको आयु वर्तमानमा ५ हजार वर्षमा चलिरहेको छ । कलि संवत्को प्रारम्भ द्वापर युगको अन्त्यको समयमा महाभारतको युद्ध चलेको थियो । तत्कालिन नेपालका किरात वंशका राजा यलम्बर महाभारतको युद्धका साक्षी हुन् । प्रथम किराँती राजा यलम्बरको शासनकाल नेपालको इतिहासलाई मुल्यांकन गर्ने हो भने प्राचीन कालकै अन्तिम खण्ड हो । प्रचीन नेपालमा गोपाल वंश, महिषपाल वंश र किँरात वंशको शासन रहेको उल्लेख छ ।

काठमाडौं उपत्यकाको इतिहासलाई हेर्ने हो भने किँरात वंश पछि लिच्छवि वंश र लिच्छवी वंश पछि मल्ल वंशको शासन रहेको उल्लेख छ । जसलाई इतिहासको मध्यकालिन समय पनि भनिन्छ । नेपालको लिच्छवी वंश र मल्ल वंशको शासन रहेको समयलाई स्वर्णयुगको रुपमा पनि चित्रित गरिएको छ । सम्भवत् इतिहासमै आजसम्म नेपालको अवस्थालाई मुल्यांकन गर्ने हो भने वैवभ, शक्ति र सुशासनको आधारमा नेपाल मल्लवंशको समय ज्यादै सम्पन्न थियो । यसै समयको पेरिफेरी अर्थात् प्रचीन र मध्यकालीन समयमै नेपालको पश्चिमी क्षेत्रमा शक्तिशाली खस साम्रज्य अस्तित्वमा आइसकेको थियो ।

जसका पहिला राजा नागराज हुन् । उनी सूर्यवंशी मल्ल राजा हुन् । पौराणिक हिन्दू शास्त्रहरुमा उल्लेख भए अनुसार सुर्य वंशी र चन्द्र वंशी दुई वंशको शासन महत्वपूर्ण शासन काल हुन् । दुवैको उद्गम वा शुरुवात कैलाश अर्थात् मानासरोवर क्षेत्र हो । जसलाई सिन्धु सभ्यता विकास भएको क्षेत्र मानिन्छ । यही सिन्धु शब्द आज हिन्दू बनेको हो । हिन्दूको अर्थ चन्द्र सुर्य पनि हो । खस राज्य हालको कर्णाली क्षेत्रमा पर्ने क्षेत्र हो । तर अहिलेको वर्तमान नेपालको कर्णाली क्षेत्रमै मात्र खस राज्य सीमित थिएन । खस राज्य पश्चिममा कुमाउ गढवाल देखि पूर्वमा झण्डै उपत्यकासम्म फैलिएको इतिहास भेटिन्छ । हाल भारत प्रशासित काश्मिर त्यसबेला खस राज्यकै अंग थियो ।

जसलाई खसहरु बस्ने खस्मिरको रुपमा परिचय गराइन्थ्यो । कालान्तरमा खस्मिर काश्मिर बन्न पुगेको छ । त्यही खस साम्राज्यको आधुनिक कालमा आएर टुक्रा—टुक्रामा विभाजित भएको राज्यहरुलाई बाइसे र चौबिसे राज्यको रुपमा चिनिएको थियो । वास्तवमा ईतिहासमा उल्लेख भएको आधुनिक काल भन्दा पनि पहिले नै अस्तित्वमा रहेको खस साम्राज्यमा मल्ल बंशले शासन गरेको, नागराजको उदय र शासन, नाग वंश, सवै पौराणिक सुर्य वंशी थिए ।

तिनै सुर्यवंशी मल्लहरुले पछिल्लो आधुनिक काल अर्थात् पृथ्वीनाराण शाहले नेपाल एकीकरण गर्दासम्म अस्तित्वमा रहेको उपत्यकाको नेपाल मण्डल र पश्चिम नेपालका अधिकांश राज्य र क्षेत्रमा शासन गरेको ऐतिहासिक खोज र विवरण उल्लेख गरिएकोे एक पुस्तकको रुपमा ‘सूर्यवंशी मल्लहरुको इतिहास नामक पुस्तक’ प्रकाशनमा आएको छ । जुन नेपालको सुर्यवंशी मल्ल राज्य र मल्लहरुको ऐतिहासिक अध्यनका लागि ज्यादै महत्वपूर्ण देखिएको छ । ‘सुर्यवंशी मल्लहरुको इतिहास’ नामक प्रस्तुत पुस्तकका लेखक र्इं कृष्णबहादुर मल्ल हुन् ।

वि.सं २०१७ माघ २२ गते डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका वार्ड नं ३, लामिकाँडेमा जन्मेका मल्लले पुल्चोक ईञ्जिनियरिङ क्याम्पसबाट सिभिल ईञ्जिनियरिङमा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका छन् । नेपाल सरकारको निजामती सेवामा करिव ३७ वर्ष लामो कालखण्डसम्म सेवा पु¥याएका सेवा निवृत्त कर्मचारी समेत रहेका उनले नेपालका प्राय सवै जिल्ला तथा विदेशमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतको भ्रमण समेत गरेका छन् ।

लामो समयको सरकारी सेवापछि पनि मल्ल नेपाली इतिहास, संस्कृतिको अध्ययन तथा खोजमा सक्रिय रहँदै आएका छन् । साथै धर्म संस्कृति तथा अध्ययनका विभिन्न संघ संस्थाहरुमा संलग्न भएर क्रियाशील रहेका छन् कृतिका लेखक ईं. कृष्णबहादुर मल्ल । मल्ल व्यक्तिगत रुपमा ज्यादै नरम र मृदुभाषी स्वभाका व्यक्ति हुन् । सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक खोज एवं अनुसन्धान तथा अध्ययनमा गहिरो रुचि उनमा रहेको देखिन्छ । यसैकारण पनि उनले गरेको ऐतिहासिक अध्ययन र निरन्तर खोजपछि संकलन गरिएको महत्वपूर्ण जानकारीहरुको सँगालोको रुपमा प्रस्तुत ‘सुर्यवंशी मल्लहरुको इतिहास’ जस्तो पुस्तक तयार भएको छ ।

ऐतिहासिक कालखण्डका मल्लकालीन समय, राज्य व्यवस्था र मल्ल राजाहरुको वृतान्त पुस्तक भित्र उल्लेख गरिएको छ । पुस्तकलाई सरसरर्ती नियालेर हेर्दा यस भित्र सुर्यवंशको इतिहास, सुर्यवंशी खस साम्रज्य वैदिक तथा पौराणिक काल देखि पछिल्लो आधुनिक काल सम्मको इतिहासको जानकारी यसभित्र समेटिएको पाइन्छ । वैदिककाल देखि अहिलेको वर्तमान नेपालको अवस्थासम्मका मल्लवंशी इतिहास र वर्तमान अवस्थासमेतको वृतान्त विवरणहरु उल्लेख भएका विभिन्न शिर्षकका आलेखहरु पुस्तकभित्र समावेश गरिएका छन् ।

नेपालको कर्णाली तथा सुदुरपश्चिम प्रदेशको उत्तर कैलाश मानसरोवर सेरोफेरोमा फैलिएको आफ्नै अलग पहिचानयुक्त स्याङसुङ सभ्यता तथा त्यही क्षेत्रका स्थान र प्रदेशका वारेमा बुझ्न र ति क्षेत्रलाई परिचित गराउन पनि पुस्तक महत्वपूर्ण रहेको देखिन्छ । इतिहास नबुझी वर्तमान बुझिन्न । हिजोको नेपाल राज्यको इतिहास र वस्तुस्थिति नबुझि समृद्ध नेपाल निर्माण हुँदैन । त्यसैले पनि नेपालको मल्ल शासनकालका विभिन्न हराएका, लुकेका र थाहा नभएका महत्वपूर्ण घटना क्रमहरुको उल्लेख पुस्तकमा समेटीएको छ । त्यसैले पनि ऐतिहासिक अध्ययनका र जानकारी हासिल गर्न महत्वपूर्ण र उपयोगी पुस्तकको रुपमा ‘सुर्यवंशी मल्लहरुको इतिहास’लाई लिन सकिन्छ ।

लोकप्रिय