देउवा र युरोपेलीका प्रबन्ध निर्देशक पम्पालोनी बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपेली सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी बीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नेपाल–युरोपेली सङ्घबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्षा, जलवायु परिवर्तन लगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
नेपाल–सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार उहाँ काठमाडौं आउनु भएको थियो । आयोगको बैठक भोलि हुँदैछ । उहाँले बैठकको सहअध्यक्षता गर्नुहुनेछ । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले सहअध्यक्षता गर्नुहुनेछ । बैठकमा गत वर्ष भएको १२ बैठकका प्रगतिको समीक्षा, नेपाललाई प्राप्त विकास सहायताको प्रगति तथा त्यसका समग्र पक्षको विवेचना, कोरोना महामारीपछिको आर्थिक पुनरुत्थान, व्यापार तथा लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्प पछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनबारे छलफल हुनेछ ।
वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले गरेका सुधार, अघि सारेका नीतिगत योजना, सङ्क्रमणकालीन न्यायप्रतिको नेपालको अटुट प्रतिबद्धता, कोरोना महामारीका कारण केही विलम्ब भएको सहयोगका परियोजना तथा सन् २०२१ देखि २०२७ सम्मको बहुवर्षीय वित्तीय ढाँचामा सङ्घले गर्ने विकास सहायता ,आर्थिक, वित्तीय, सामाजिक तथा वातावरणीय दिगोपन, दिगो यातायात विकास, ऊर्जा र ‘डिजिटल’ सञ्जालमा लगानी, जनस्तरको सम्पर्क विस्तार जस्ता रणनीतिक योजनाबारे पनि गहन छलफल हुनेछ ।
युरोपेली लगानी बैंकले जलवायु परिवर्तनका कुप्रभाव घटाउन तथा भौतिक पूर्वाधार विकास र अनुकूलनमा ऋण प्रवाहमा आफूलाई केन्द्रित गर्ने विषयका साथै हालै ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न सङ्घबाट हुने सहयोगका विविध पक्षबारे पनि विचार आदानप्रदान हुनेछ ।
प्रतिकृया दिनुहोस्