भुतपूर्व शिक्षक समाजले निकालेको ‘शैक्षिक–स्मारिका’ विमोचन

भुतपूर्व शिक्षक समाजले निकालेको ‘शैक्षिक–स्मारिका’ विमोचन

 

काठमाडौ । भुतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रुपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो ।
यसवर्ष असोज ७ गते गठन भएको भुतपूर्व शिक्षक समाजले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गरेका शिक्षकहरुले जीवनभर शिक्षा क्षेत्रमा आफ्नो जिवनलाई समर्पित गर्ने सोचमा मुनाफारहित संस्थाको रुपमा यस संस्थाको स्थापना गरिएको बताएको छ ।
साथै, संस्थाले आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर सबै राजनीतिक दलमा आवद्ध रहेका भुतपूर्व शिक्षकहरुलाई समेट्ने पनि घोषणा गरेको छ । यस्तै, देशमा भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने भन्दै संस्थाले यो कुरालाई अगाडी बढाउन मूल उद्देश्य बनाएको पनि जानकारी दिएको छ ।
नेपालमा कुनैपनि जागिर नपाए शिक्षण पेशामा आउने प्रणाली रहेकोमा दुःख व्यक्त गर्दै यस्तो मानसिकतालाई अटाउन पनि संस्थाको मूल उद्देश्य रहेको बताईएको छ ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रेमप्रसाद भट्टराईले स्मारिका विमोचन गर्दै स्मारिकाको समिक्षा गरेका थिए । उनले उक्त स्मारिकामा ३९ वटा लेख तथा रचना रहेको जानकारी दिँदै शिक्षकहरुले राखेका अनुभवहरु नयाँ पुस्ताको लागि महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको आवश्यकतालाई कम्प्रोमाइज नगरेर पुरानो पुस्ताले पुर्ति गरिदिनुपर्नेमा जोड दिएका थिए । स्मारिकामा समाजमा रहेका बिविध कुरालाई समेटिएको भन्दै पठनीय रहेको बताए ।
यस्तै, उनले हरेक व्यक्तिको सिक्ने चाहनालाई उसको स्पिरिटमा सिकाउनको लागि हरेक कक्षालाई रुपान्तरण गर्नुपर्ने बताएका थिए ।
साथै, उनले भुतपूर्व शिक्षक समाज चिया खाने चौतारीमात्र नभएर प्राज्ञिक चौतारी बन्दै देशको शिक्षा क्षेत्रमा कोसेढुंगा बन्न सकोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले नेपाली शिक्षकहरु उज्यालोको प्रकाश बोकेर देशका कुना–कन्दरासम्म पुगेका भन्दै शिक्षकहरुलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिएकी थिइन् । साथै, उनले रिटायर्ड भएपछि मान्छे टायर्ड हुन्छ भन्ने कुरा गलत भएको भन्दै नयाँ जोश र जाँगरले भुतपूर्व शिक्षकहरुले देशको शिक्षा क्षेत्रमा सुधारमा लाग्नुपर्ने बताइन् ।
‘यो संस्था जुन उद्देश्यका साथ यस संस्थाको स्थापना गर्नुभएको छ, त्यो काम निकै प्रशंसायोग्य रहेको छ’, उनले भनिन् ।
आम नेपाली शिक्षकहरुको हकहितको लागि भुतपूर्वक शिक्षकहरुले राम्रो काम गरेको बताउँदै उनले भनिन्, ‘२०४७ साल अघिको शिक्षकहरुको अवस्था निकै दुःखदायी रहेको थियो उहाँहरुकै कारणले गर्दा अहिले हामी यो अवस्थामा आएका हौं’, ।
उनले कुनैपनि कुरा सिक्नको लागि उमेरले छेक्न नसक्ने भन्दै यो युग विज्ञान र प्रविधिको युग भएकाले शिक्षकहरुले प्रविधिमा पनि ध्यान दिनपर्ने बताइन ।

लोकप्रिय