केएमसी कलेजले लुट र शोषण मच्चाएको भन्दै विद्यार्थी आए मिडियामा

केएमसी कलेजले लुट र शोषण मच्चाएको भन्दै विद्यार्थी आए मिडियामा

 

काठमाडौ । काठमाडौंको सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बिडिएसका विद्यार्थीहरूसंग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढि जवरजस्ती रुपमा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिले आज राजधानीमा एक पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिवद्धता गर्नुपर्ने माग गरेको हो ।
विद्यार्थीहरुले करारनामाको नाममा कलेज प्रशासनले अनावश्यक दबाब दिन नपाइने र ऐच्छिक छात्रावासको व्यवस्था गर्नुपर्ने पनि माग राखेका छन् । उनहिरुले शिक्षण शुल्कमा कर लाग्ने भएमा लाग्ने कर विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापि मान्य नहुने पनि चेतावनी दिएका छन् ।
चिकित्सा ऐन २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्कबाहेकका सबै शुल्क ऐच्छिक हुन् भन्दै कलेजले लिन खोजेको अतिरिक्त शुल्कहरु विद्यार्थीहरु तिर्न बाध्य नभएको र अपिलम्ब खारेज गर्न माग गरेका छन् ।
अध्ययन अविधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँचजस्ता कुराहरुमा ९० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । कार्यक्रममा बोल्दै एमबीबीएस तहमा अध्ययनरत छात्रा निशिका कोइरालाले आम विद्यार्थीहरुको माग आफूहरुले कलेजसमक्ष राखेको बताईन् । उनले कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गरेको आरोपसमेत आरोप लगाईन् ।
कोइरालाले शिक्षण शुल्क अतिरिक्त राखेर २० लाखभित्र के–के पर्छन् त्यसबारेमा विद्यार्थीहरुलाई हालसम्म केही सूचना नदिएको पनि उल्लेख गरिन् ।
कलेजले अनिवार्य रुपमा ५ वर्ष छात्रावास बस्नुपर्ने बाध्यता बनाएको उल्लेख गर्दै छात्रावासमा पनि न्यूनतम सुविधाको व्यवस्थासमेत नगरेको गुनासो पोखिन् । उनले वाईफाइको पनि सुविधा नदिईएको र आफ्नो आवाजबाहिर ल्याउन नपाउने भन्दै दबाब दिँदै आएको बताईन् । उनले भनिन्,‘यो शिक्षा हो की व्यवसाय हो ? कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्यो, होइन भने हाम्रा माग पुरा हुनुपर्छ ।’

लोकप्रिय