कर्माचार्यको कवितासंग्रह सार्वजनिक

कर्माचार्यको कवितासंग्रह सार्वजनिक

काठमाडौ । कवि तथा हाइजिन पशुपति कर्माचार्यको तेश्रो काव्यकृति समानताको चिराग बोकेर जूम प्रविधिमार्फत सार्वजनिक गरिएको छ । नेपाली साहित्य समाज न्युजीलैण्डको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि कथाकार धु्रव मधिकर्मीले कृतिको विमोचन गर्दै कवितामा मुलुकको राजनीतिक दुर्दशाले निम्त्याएको विसंगति र मानवीय मूल्यका बारेमा चिन्ता प्रकट गरिएको बताउनुभयो । साथै उहाँले समसामयिक विषयलाई पनि कवितामा सरल रुपमा अभिव्यक्त गरिएको छ भन्नुभयो ।
समालोचक कृष्ण प्रधानले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वर्तमान समयमा मानिसले भोगेका विभिन्न स्थिति र संवेदनालाई सहज ढंगले प्रस्तुत गरिएको बताउनुभयो ।
कृतिका लेखक कर्माचार्यले विदेशमा बस्दा पनि आफ्नो देशको चिन्ताले सताउने गरेको बताउँदै तिनै चिन्ता र अन्य सामयिक अनुभूतिलाई नै कवितामा उतार्न खोजेको बताउनुभयो ।
समाजका अध्यक्ष डा वीरेन्द्र केसीको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकारहरु श्रीधर बस्न्यात, रामप्रसाद पन्त, उद्धव अधिकारी, कमलप्रसाद श्रेष्ठ भोला प्रधान, लाल केसी, सजय शान्ति सुवेदी, युवराज भण्डारी, विपिन्द्र कोइराला र शैलेश कर्माचार्याले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको पछिल्लो चरणमा विमोचित कृतिबाट युवराज भण्डारी, शैलेश कर्माचायृ, सविना चौलागाइँ, अमि कायस्थ र सजय शान्ति सुवेदीले कविता वाचन गर्नुभएको थियो ।
हाल न्युजीलैण्डमा बसोबास गरिरहनुभएका कवि कर्माचार्यको यसअघि यादका आयामहरु, मुटुमा बुद्ध बोकेर दुइटा कृति प्रकाशित गराइसकेका छन् भने यो तेस्रो कृति दायित्व वागमय प्रतिष्ठानले प्रकाशन गरेको हो ।

 

 

 

लोकप्रिय