महानगरमा पौडेलको इन्ट्री : ज्ञवालीको सेटिङ्ग तोडिएला त ?
काठमाडौं । गत साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहवाट लोकनाथ पौडेललाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । उनले महानगरको जिम्मेवारी पाएसँगै महानगरपालिकाभित्र पूर्व प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको सेटिङ्ग भत्काउलान् कि संरक्षण गर्लान् भन्ने विषय महानगरभित्र चासोको विषय बनेको छ ।
पछिल्लो समय महानगर पालिका भ्रष्टाचारको अखडा बनेको छ । महानगरभित्र कयौं आर्थिक अनियमितता र बेथितिहरु झाँगिएका छन् । पूर्व प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले सेटिङ्गको जालो बनाएर राखेका छन् । ज्ञवालीको उर्ठीपूर्तिमा महेश काफ्ले, युवराज खनाल र सुदर्शन भट्टराई लगायतका कर्मचारीहरुले साथ दिए ।
यति नै बेला महानगरभित्र ७० करोडमा भवन निर्माण ठेक्का प्रक्रियाले चर्चा पाएको छ । महानगरलाई दुहुनो गाई बनाएका ज्ञवालीले महानगरको भवन निर्माण कार्यमा करोडौं हात पार्न खोजेको विषय बाहिरिएपछि उनलाई महानगरबाट सरुवा गरिएको हो । हाल ज्ञवालीलाई जोगाउनका लागि मन्त्रालयको अतिरिक्त समुहमा थन्काइएको महानगर स्रोतको दाबी छ ।
७० करोडको ठेक्का अनियमिततामा मुछिएका ज्ञवाली महानगरबाट बाहिरिएपछि प्रशासन महाशाखा प्रमुख काफले, खनाल र स्टोर शाखाका प्रमुख सुदर्शन भट्टराईको ओठ तालु सुकेको बताइएको छ । उनीहरु ज्ञवालीकै मतियार भई अकुत सम्पत्ति आर्जन गरेको समाचार स्रोतको भनाई छ ।
‘उनीहरुकै योजनामा महानगरको भवन निमाणको ठेक्कामा कीर्ते कागजपत्र तयार गरेर करोडौं कुम्ल्याउने योजना बाहिरिएसँगै ज्ञवालीको सरुवा भएको हो’ समाचार स्रोतको दाबी छ । काठमाडौं महानगरपालिकामा बिशिष्ट श्रेणीको दरबन्दी काटेर प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली सहसचिवको दरवन्दी कायम गराएर महानगर हाली मुहाली गर्दै आएका थिए । समग्रमा यतिबेला महानगरपालिकाभित्र सेटिङ्गको जालो छ । त्यो जालो तोड्नका लागि नवनियुक्ति प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कडा मेहनत गर्नुपर्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्