शेखर कोइराला : कार्यकर्ताको नजरमा दोस्रो, देउवाले बनाए २० औं
काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेर दोस्रो नम्वरमा परेका कोइरालालाई सभापतिमा निर्वाचित शेरबहादुर देउवाले शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा २० औं नम्बरमा पुर्याएपछि कोइराला समर्थकहरु रुष्ट भएका छन् ।
काँग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियतामा राखिने गरिएको थियो । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो । सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो ।
तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरियतामा राखिएको हो । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्व दिएका छन् ।
कोइरालालाई २० औं वरियतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले संघर्ष गर्नुपरेको कांग्रेस स्रोतको दावी छ । वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्