नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ भन्नुहुन्छ –‘पद त आउँछ जान्छ जिम्मेवारी बोध ठूलो कुरा हो’ (अन्तरवार्तां)
धनराज गुरुङ, नवनिर्वाचित उपसभापति नेपाली कांग्रेस
नेपाल विद्यार्थी सघंको राजनीतिबाट खारिएका स्थापित नेता हुन् धनराज गुरुङ । नेविसंघको केन्द्रीय अध्यक्षसमेत भइसकेका गुरुङ पार्टीभित्र सधैं खरो उत्रने नेतामा गनिनिन्छन् । सधैं निष्ठाको राजनीतिलाई केन्द्रमा राखेर अगाडि बढेका गुरुङ पार्टी केन्द्रीय सदस्य हुँदा आफ्नो अडानप्रति कत्तिपनि डगमगाएनन् । पदभन्दा जिम्मेवारी बोधलाई ठूलो ठान्ने उनी कांग्रेसभित्र इमान्दार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । कांग्रेस १४ औं महाधिवेशनको समसामयिक विषयमा केन्द्रित रहेर उपसभापति गरुङसँग कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा यतिछिट्टै बागडोर सम्हाल्ने गरी उपसभापति हुन्छु भन्ने लागेको थियो ?
अहिले यो हुन्छ, त्यो हुन्छ भन्नु भन्दा पनि म पहिला पार्टीमा लाग्दा सामन्तवादको विरुद्धमा, पञ्चायती सशानका विरुद्धमा, जनजीविकाको पक्षमा आवाज बुलन्द गर्न भनेर लागेको हुँ । अझ उतिखेरको कुरा गर्नुपर्दा जस्तोसुकै परिस्थितिमा पनि प्रजातन्त्रको पक्षमा दरिलो ढंगले उभिन भनेर राजनीतिमा लागेको हुँ । त्यतिखेर म नेविसंघको केन्द्रीय अध्यक्ष हुँला, तरुण दलको महासचिव हुँला, अनि पार्टीकै उपसभापति हुँला भनेर केही सोचिएको थिएन । यी लाभका पदीय जिम्मेवारी कुनैमा पनि सोचिएको थिएन । यो त राजनीतिमा कर्म गर्दै जाँदा प्राप्त भएको जिम्मेवारी हो । आज नेपाली कांग्रेसको १४ महाधिवेशनबाट मैले उपसभापतिको जिम्मोवरी पाएको छु । पद त आउँछ जान्छ त्यो ठूलो कुरा होइन आज जिम्मेवारी बोध गरेको छु । फेरि गर्दै गर्दा मैले यो पद पाउँछु कि पाउँदिन भनेर त्यति ध्यान दिनुपनि हुँदैन ।
अहिले जुन जिम्मेवारी प्राप्त गर्नुभयो त्यसबाट कस्तो महसुस गर्नुभएको छ ?
मैले जुन जिम्मेवारी प्राप्त गरेँ त्यसमा मलाई सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुले विश्वास गर्नुभएको छ । अब मैले यसलाई चुनौति र अवसर दुवै रुपमा ग्रहण गरेको छु । अब काम गर्न सके यो मेरो लागि अवसर हुने छ र काम गर्न नसके चुनौति सावित हुने छ । त्यसकारण मैले यो जिम्मेवारीलाई चुनौति र अवसर दुवै कोणबाट हेरेको छु । आउने दिनमा यो जिम्मेवारीलाई चुनौति भन्दा पनि अवसरको रुपमा बदल्न चाहन्छु ।
दुईवटा पाटामा उपयोग गर्छु भन्ने लागेको छ हो ?
हो, एकदमै सक्छु, त्यसमा मेरो दृढविश्वास छ । यी दुईवटा पाटामध्ये अवसरको रुपमा उपयोग गर्न सक्छु ।
कांग्रेसको यो महाधिवेशनले दिएको संकेत अथवा पुस्ता हस्तान्तरणको बाटोमा तपार्इंहरु परिपक्व तरिकाले लाग्न सक्नुभएन र त्यसलाई नतिजामुखी पनि बनाउन सक्नुभएन भनेर त फिल गर्नुभयो ?
प्रक्रिया मात्रै होइन परिणामहरु पनि आउन थालेका छन् रुपान्तरणको । किन भने सभापतिजीले यसपालि पनि छोड्नुभएन । उपसभापतिमा म आइपुगेको छु । महामन्त्रीमा विश्वप्रकाश र गगन थापाहरु आइसकेका छन् भनेपछि रुपान्तरणको प्रक्रिया यहींबाट हुन्छ । त्यसमा व्यक्ति परिवर्तन मात्रै महत्वपूर्ण विषय होइन । यहाँ हामी आफै बदलिन आवश्यक छ । हामी आफै रुपान्तरित हुन आवश्यक छ । हामी रुपान्तरित भएको कुरा हाम्रो व्यवहारबाट आगामी देखाउन आवश्यक छ । हामीले हाम्रो व्यवहारबाट रुपान्तरित भएको कुरा सावित गर्न सकेनौ भने त्यो भ्रम मात्रै रहेछ भन्ने हुन्छ । त्यसकारण त्यसलाई भ्रममा होइन परिणाममा लिएर आउन आवश्यक छ । त्यसमा पनि म सजग छु ।
पहिलाको भन्दा नयाँ त के देखियो र तपाईं महाधिवेशन पनि नेतृत्व चयनको मात्रै गर्नुभयो, त्यहाँ न नीतिको सम्वोधन भयो, न विधानको भयो यो त समग्रमा हेर्दा १३
महाधिवेशनको निरन्तरता भन्ने बुझ्छन् मान्छेले होइन ?
अहिलेको महाधिवेशन निश्चित रुपमा यहाँले भनेजस्तै नेतृत्व चयनकै लागि भयो । यो साच्चै नै नेतृत्व चयनको अधिवेशन जस्तो भयो । अब हामीले भनेका छौं । नीतिगत विषयका सन्दर्भमा, वैचारिक बहसका सन्दर्भमा, अबको एकवर्षभित्र हामीले महासमितिको बैठक बोलाएर व्यापक रुपमा छलफल गर्नुपर्छ । अब तीनिगत कुरामा, विधानका कुरामा तलदेखि माथिसम्म छलफल बहस गर्दै, सुझावहरु संकलन गर्दै माथि ल्याउनुपर्छ । त्यसरी केन्द्रीय समितिमा आइपुगेपछि त्यो निक्र्यौलमा पुग्छ । त्यसलाई महासमिति बैठक बोलाएर पारित गराउने । त्यसरी पारित भइसकेपछि विधान, विधि र नीति अनुरुप तलसम्म लागु गराउन लाने हो । यसरी सुझावहरु तलबाट संकलन गरेर माथिसम्म ल्याउने त्यसको आधारमा तयार गरिएको विधि, नीति र सिद्धान्तलाई तलसम्म लागु गर्ने यसलाई दोहोरो प्रणाली भनिन्छ । अब संगठनलाई चुस्त, दुरुस्त बनाउन यो ढंगबाट हामी काम गर्दछौं । यो महाधिवशेनलाई अहिले हेर्दा नेतृत्व चयनका लागि मात्रै जस्तो पनि देखिएको छ । तर, सँगसँगै पार्टी संगठनको सन्दर्भमा, वैचारिक सन्दर्भमा नीतिगत सिद्धान्तको सन्दर्भमा काम गरेर अगाडि बढ्ने हो ।
तपाईंले उठाएका कुरा गर्न बाँकी छ, एकवर्षभित्र गर्नुहुन्छ ?
समय अनुसार उठेका विषयहरुमा छलफल गर्नुप¥यो भने केन्द्रीय समिति छँदैछ त्यहाँबाट अगाडि बढाइन्छ । गम्भीर विषयमा, गम्भीर रुपले छलफल गर्नुप¥यो । जस्तो विधानै परिवर्तन गर्नुप¥यो भने त्यो केन्द्रीय समितिलाई मात्रै अधिकार छैन ।
तपाईंले पटक–पटक विधान परिवर्तनका कुरा गर्नुभयो त्यसमा के अप्ठ्यारो लागिरहेको छ ?
विधानको कुरा गर्नुपर्दा त हामीले यस्तो झन्झटिलो बनाएका छौं । त्यसकै कारणले बेलाबेलामा विधानलाई मिचेर काम गर्ने चलन अगाडि आएको छ । बेलाबेलामा नेतृत्वले त्यसलाई चलाउने, मिच्ने काम भइराखेको छ । अधिवेशनको बेलामा पनि वडा, गाउँनगर, क्षेत्र, जिल्लाहरुमा विधान मिचेर सर्कुलर पठाउनुप¥यो । त्यो काम त विधान विपरीत भयो नि तर पनि मान्नुपर्ने अवस्था भयो । किन भने विधानले काम गर्न सकेन । त्यसले काम गर्न नसकेपछि अर्को सर्कुलर प्रयोग गर्नुप¥यो । त्यसकारण यसलाई अलि सरलिकृत गर्नुपर्छ । अहिलेको विधान कार्यान्वयन पक्षमा धेरै जटिल छ, त्यसलाई सलिकृत गर्दै अगाडि लैजानुपर्छ । अर्को क्षेत्रीय प्रतिनिधि भनेको छ त्यसको कोम त क्षेत्रमा मात्रै भाग लिनुपर्ने हो नि । तर, तिनीहरुले जिल्ला अधिवेशनमा पनि भाग लिन्छन् । यो पहिलादेखि चलिआएको परम्पराबाट हामी अगाडि बढिरहेका छौं । त्यस्तो जघन्य त्रुटीहरु छन् । यीलगायत धेरै त्रुटीहरु सच्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । त्यसपछि धेरै प्रतिनिधिहरु राखेर क्षेत्र, प्रदेश र केन्द्रीय अधिवेशन गरिएको छ त्यसलाई पनि न्यूनिकरण गर्नुपर्छ । यी र यस्ता धेरै जटिलताहरु छन् यसलाई सरलिकृत गरेर अगाडि जानुपर्छ ।
यी त भए तपाईंका योजना तर धनराज गुरुङले उपसभापतिमा भोट माग्दा पार्टीभित्र भएका भ्रष्टाचारका फाइल सारा खोलिने छन् भन्नुभएको छ नि त्यो गर्न सक्नुहुन्छ ?
भ्रष्टाचारका ठूलठूला फाइल त अख्तियारका घर्राहरुमा बन्द गरेर लुकाइन्छ । जब नेताहरुको नाम मुछिएको फाइल आउँछ त्यसलाई तामेलिमा राखिन्छ । त्यसैले मैले विगतमा सदस्य हुँदा पनि जुतिसुकै ठूला नेताहरु किन नहुन् तर भ्रष्टाचार गर्नेलाई छानविनको दायरामा ल्याउनुपर्छ भनेकै हो । श्रदेय सभापति पछिल्लो कार्यकालमा प्रधानमन्त्री बनेपछि शुभकामना दिनेक्रममा पनि मैले भ्रष्टाचारका ठूला–ठूला फाइल खोल्न अख्तियारलाई निर्देशन दिनुहोस् भनेकै हुँ । केन्द्रीय समितिको बैठकमा पनि त्यो कुरा भनेकै हुँ । अब त म पदाधिकारी भएँ नि त । खाली सुनाउने कुरा मात्रै रहेन अब त कार्यान्वयनको पक्षमा जान्छन् यी विषयहरु । त्यसैले अब यो विषयमा सभापतिसँग सहकार्य हुन्छ । सभापतिले मान्नुहुन्छ भन्ने मलाई लाग्छ ।
विगतलाई हेर्दा त त्यो देखिँदैन नि तपाईंले भनेको मान्ने भए त सभापतिले योभन्दा अगाडि पनि त मान्नुहुन्थ्यो नि ?
अब त मेरा युवा नेताहरु पनि महामन्त्रीमा हुनुहुन्छ नि । महामन्त्री र हामी पदाधिकारीहरु बसेर प्रस्ताव तयार पार्न सक्छौं नि । त्यसरी प्रस्ताव तयार पार्दै गर्दा भ्रष्टाचारसँग जोडिएका सवालहरु, कतिपय जनमुखी सवालहरु जुन देश बनाउने सवालहरु हुन् । त्यसमा हाम्रा प्रधानमन्त्रीज्यूले कसरी नाइ भन्नुहोला र ! यस्ता विषयमा सुनुवाइ नहुने हो भने रुपान्तरण भनेको के त ?
तपाईंले जसरी भ्रष्टाचारका ठूला–ठूला फाइल खोल्छु भनिरहँदा धेरै भ्रष्टाचारका मुद्दाहरुमा तपाईंका पार्टीका नेताहरुको पनि नाम जोडिएका छन् नि ?
मैले पहिला पनि पटक–पटक भन्दै आएको छु । यो मिडियामार्फत पनि फेरि भन्नैपर्ने भयो । भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीतिक पार्टी र राष्ट्रियता हुँदैन । अनि के तपाईंको पार्टी र अर्को को पार्टी भन्नुहुन्छ । यहीं मान्यताका साथ हामी अगाडि बढ्ने हो भने बल्ल देशको मुहार बदलिने हो ।
यस्तो महत्वकांक्षी कुरा सुन्दा त तपाईंलाई उपसभापतिको एउटा कोठा बनार राखियो भने के हुन्छ ? यस्तो पनि संकेत देखिएको छ ।
त्यस्तो औधि नहोला । यो महत्वकांक्षी प्लान होइन, यो त देश बनाउने प्लान हो । त्यसैले शिवजी तपाईंले भनेजस्तो एउटा कोठामा सीमित पार्ने कतैबाट दुष्प्रयास हुन्छन् भन्ने मलाई पटक्कै लाग्दैन ।
तपाईंका यी योजनाहरु खाली कथामा मात्र सीमित हुन्छन् कि कार्यान्वयनका पक्षमा पनि आउँछन् ? त्यसका आधारहरु के के हुन् ?
परिवर्तन, रुपमान्तरण भन्ने कुरा एकै झड्कामा हुँदैन । त्यसको लागि समय लाग्छ । म संघर्षरत छु । संघर्ष गर्दै अगाडि बढ्ने हो । नदी निरन्तर अगाडि बढ्यो भने मात्रै समुन्द्रमा पुग्छ । एउटा नदीलाई समुन्द्रमा मिसिन महिनौं दिन लाग्छ । त्यसकारण हामीले आत्तिनुपर्ने कुरा केही छैन । आउने पुस्तालाई हामीले यी कुरा बताइरहनुपर्छ ।
हिजो तपाईंले कार्यसमितिमा बसेर काम गरेका सभापति, कार्यसमिति धेरै छन् अनि नयाँ ढंगले एकदमै कायपलट कसरी हुन्छ ?
त्यति सजिलो त छैन । किन भने विगतमा केन्द्रीय समिति बैठकमा देशमा ओम्नी काण्ड घट्दै गर्दा अथवा ७४÷७५ करोडको स्वास्थ्य सामग्रीलाई १ अर्ब २५ करोडको बिल भुक्तानी गर्दै गर्दाको बखतमा यो भ्रष्टाचार भयो यसलाई छानविनको लागि सत्याग्रह गरौं भनेको थिएँ । किन भने त्यतिबेला कोरोनाका कारण जुलुस निकाल्न मिलेन । जुलुसभन्दा ठूलो आन्दोलन भनेको सत्याग्रह हो । त्यसको लागि म आमरण अनसन बस्न तयार छु भनेको थिएँ । त्यो कुरा कार्यान्वयन हुन सकेन ।
तपाईंलाई पदाधिकारी हुनेबित्तिकै सबै कुरा लागु हुन्छ भन्ने लाग्छ ?
नेतृत्वलाई दबाब बढी हुन्छ नि । पदाधिकारीहरुले उठाइसकेपछि हरेक प्रमुख नेतृत्वलाई दबाब सिर्जना हुन्छ ।
१३ महाधिवेशनदेखि नै पार्टी नीति र विधिले चलेन यसलाई नीति र विधिभित्र ल्याउनुपर्छ भनेर छुट्टै टिम बनाएर चुनाव लड्नुभयो अब फेरि त्यहीं सभापतिसँग बसेर काम गर्ने हो अनि अनि तपाईंलाई आफ्नो अनुकूल चलाउन सक्छु भन्ने लाग्छ ?
उहाँ अब पनि हिजोको शेरबहादुर भएर चल्नुहुन्छ त ? मान्छेमा परिवर्तन आउँदैन ? मान्छेलाई परिवर्तन गराउन सकिँदैन र ? पक्कै सकिन्छ भन्ने मलाई पूर्ण विश्वास छ । हिजो श्रदेय नेता शेरबहादुर देउवाको पहिलो इनिङ खराब भयो होला । तर, दोस्रो इनिङ राम्रो हुन्छ भन्ने मलाई लागेको छ । किर्केटमा पहिलो इनिङमा कमजोर खेलाडीले दोस्रो इनिङमा सेन्चुरी हानिराखेको हुन्छ । हो, हाम्रो सभापतिको पनि पहिलो इनिङमा खराब इमेज भयो । अब दोस्रो इनिङमा उहाँले सेन्चुरी हान्नुहुन्छ । त्यसैले उहाँलाई पनि सकारात्मक सुरुप लियौं न किन नकारात्मक कुरा गर्ने । नकारात्मक कुराले कहिं पुग्दैनौं हामी । अब त महामन्त्री, सह–महामन्त्री, उसपभाति, केन्द्रीय सदस्यहरु सँगसँगै अगाडि बढ्नुछ । त्यसैले खाली नकारात्मक सोच राखेर नकारात्मक ढंगले हेर्नुहुँदैन । र, हामीले पनि मूल नेतृत्वलाई नकारात्मक ढंगले हेर्नुहुँदैन ।
तपाईंहरु चुनावका बेला मजाले अन्य पार्टीसँग लडेजस्तो रस्साकस्सी गरेर लाग्नुभयो । बोलचालै बन्द हुनेगरी बनेको तीनवटा टीमबाट पदाधिकारीमा आउनुभएको छ, अनि
तपाईंले भनेजस्तो सजिलो ढंगले काम हुन्छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ ?
त्यहीं भनेको हामी नयाँ ढंगले पार्टी चलाउँछौं । हिजोको जस्तो अवस्थाले अब चल्दैन । हिजो त वरिष्ठको कोठामा एउटा मिटिङ, सभापतिको कोठामा एउटा मिटिङ हुन्थ्यो । त्यस्तै मिटिङ हामीले चलाउने होइन । यसमा रुपान्तरण भनेको के हो ? भन्दा पहिला आफै रुपान्तरित हुन आवश्यक छ । अब पनि पार्टी हिजो जसरी चल्यो त्यसै नै चलाउने हो भने हामी नालायक बन्छौं । त्यसपछि हामी रुपान्तरणको नायक होइन खलनायक बन्दछौं । यो कुरालाई हामीले मनमष्तिस्कमा राखेर हेर्नुपर्छ । त्यसकारण नेपाली कांग्रेस हिजो जसरी चल्यो आज पनि त्यसरी नै चल्छ भनेर सोच्दैनसोच्नुहोस् । त्यो पाटोबाट सोच्न जरुरी छैन ।
त्यसोभए अब पार्टी कार्यालयमा बैठक बस्न जाँदा पहिला गुटगुटको मिटिङमा नबसी सिधै केन्द्रीय कमिटि मिटिङमै बस्नुहुन्छ ?
सिधैं मिटिङमै हुन्छांै । अब पनि के को गुट हुन्छ ? हिजो केही प्राप्तिको लागि त्यो भयो होला अब त्यस्तो चल्नेवाला छैन । अब गुटउपगुट कुनैको छेकबारमा नपरी पार्टी एकढिक्का भएर अगाडि बढ्छ । त्यसको लागि हामी लागिपर्ने छौं ।
(प्रस्तुती : कालिका महत)
प्रतिकृया दिनुहोस्