धर्म निरपेक्षता नेपालको माटो सुहाउँदो होइन

धर्म निरपेक्षता नेपालको माटो सुहाउँदो होइन

यज्ञ वहादुर सिंह

केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको राजनीतिक अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?

देशको अवस्था गन्जागोल छ । राजनीतिक स्थीरता नभएकाले देश उद्योगतीतर्फ गइरहेको छ । देशमा स्थीरता नभएकाले जताततै वेथिति देखिएको छ । सत्ता गठबन्धन सत्तामै रमाइरहेका छन् । एमालेको ताल पनि आफ्नै किसिमको छ । एमालेले विभिन्न वहानामा संसद चल्न दिएको छैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अस्तव्यस्त छ । एकातिर एमालेले संसद चल्न दिएको छैन भने अर्काेतिर सरकार स्थीर छैन, न्यायालय गन्जागोल छ । यसरी हेर्दा राज्यका यि तिनै निकायमा गम्भीर हुनुपर्ने अवस्था छ । यसै मेसोमा हेर्दा जनताले नयाँ खालको परिवर्तन चाहेका छन् । तीनै तहमा सुधार चाहेका छन् । यसरी हेर्दा देशले संघीयता धान्दैन भन्ने प्रमाणित भएको छ । धर्म निरपेक्षता पनि नेपालको माटो सुहाउँदा होइन । यो आफैमा हिमवत खण्ड हो । देव पाटन, सिद्धार्थ गौतम वुद्ध जन्मेको देश, चैत्य नै चैत्यले भरिएको देश कसरी धर्म निरपेक्ष हुन सक्छ ? मुलुकलाई धर्म निरपेक्ष बनाई रहँदा जन चाहना अनुसार भयो कि बाह्य प्रभावले भयो ! हिजो सोह्रौ शताब्दी, अठारौं शताब्दीमा पनि स्वतन्त्र अधिराज्य अनेकतामा एकता थियो, आज बाह्य प्रभावमा विभिन्न प्रलोभनमा परेर सिमित वर्गको सत्ता लिप्साले गर्दा आज देशको अहिले यो हविगत भएको छ । ९४ प्रतिशत ऊँ कार परिवार रहेको र ८४ प्रतिशत तागाधारी भएको मुलुक कसरी धर्म निरपेक्ष हुन्छ ? यसको अब पूनरविचार गर्ने समय आएको छ । त्यसैले अब वैकल्पिक शक्तिको रुपमा राप्रपा उदाएको छ । अब आम दिदीबैनी, दाजुभाईहरु बुद्धिजीवी, पत्रकार, साहित्यकारहरुले अब हामी कुन धरातलमा छौ भनेर सोच्ने बेला आएको छ । भोली गर्छ भन्ने त धेरै आए तर आज गर्ने चाहिएको छ ।

वर्तमान सरकारको क्रियाकलापलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट आएको सरकार हो । यस्तो सरकारलाई चौतर्फी रुपमा अपहेलना भइरहेको देखिन्छ । जनचाहना विपरित वर्तमान सरकारले आफ्नो पार्टी र गुटको स्वार्थलाई मात्र ध्यानमा राखी अगाडी बढेको स्थितिमा यो सरकारबाट देश र जनताको पक्षमा के अपेक्षा गर्ने ? जनताले दुःख पाइरहेका छन्, सरकारी निकाय हेरिरहेका छ । भुकम्प पिडीत भनौं याँ शितलहर भनौ, जसरी पनि गरिब जनता प्रताडित भइरहेका छन् ।
लोकतन्त्रको परिभाषा जनताको गाँसबास, स्वास्थ्य शान्ति सुरक्षा, रोजगारी नै हुनु पर्नेमा त्यो कुनै पनि कुरालाई नहेरी सरकार चलिरहेको छ । यस्तो अवस्थामा कस्तो किसिमकोे लोकतन्त्र भन्न सकिन्छ ।

हालै सम्पन्न राप्रपाको केन्द्रीय महाधिवेशनले जनतालाई के सन्देश दिएको छ ?
राप्रपाको नयाँ नेतृत्वले अब साँच्चिकै हाम्रो एजेण्डा अनुसार संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेज सहित राजसंस्था र हिन्दु धर्म पूनस्थापित गर्छ भन्ने कुरा नेतृत्व चयनकाटै स्पष्ट भइसकेको छ । राजा र हिन्दु धर्मको आवाज उठाउदै सबै पक्षलाई एकतावद्ध गर्दै अगाडि बढ्छौं भन्ने कुरा अहिलेको गतिविधिले पुष्टि गर्छ । विधिवत रुपमा हिन्दु धर्म र राजसंस्था अन्त गरिएको होइन, यसको वैधानिक मान्यता छैन । सिमित वर्गको स्वार्थले गर्दा लादिएको व्यवस्था हो । अब यसको तुरुन्त विस्थापन गर्नेतर्फ राप्रपाको नयाँ नेतृत्व लाग्नेछ भन्नेमा हामी विश्वस्त छौ । हिन्दु धर्म र राजसंस्था जनताको एजेण्डा भइसकेको छ । अब यो एजेण्डा लिएर राप्रपाले जनताको घरदैलोमा जान ढिलाई गर्नु हुन्न ।

राप्रपा महाधिवेशनपछि पार्टी फेरि फुट्ने आंकलन गरिदैछ नि ?
त्यसो त अब कुनै हालतमा राप्रपा फुट्ने संभावना छैन । हाम्रो एजेण्डामा घुसपैठ गरेर पार्टीमा घुसेका मान्छेहरुले आफ्नो स्वार्थ लिप्साको लागि केही कदम चाल्न सक्लान तर त्यसले कुनै मान्यता राख्दैन, केही असर पर्दैन ।

राप्रपाका नवनिर्वाचन अध्यक्ष राजेन्द्र लिङ्देनले भने अनुसार काम गर्न सक्नु होला ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको हाम्रो टिमले पार्टीले अंगिकार गरेको एजेण्डामा अघि बढ्छ भन्नेमा हामी विश्वस्त छौ । अध्यक्ष लिङ्देनले विगतमा खेलेको भूमिकाले पनि यस कुरालाई पुष्टि गरिसकेको छ ।

मुलुकको लागि कस्तो सरकार आवश्यक छ ?
नेपाल जस्तो देशमा महेन्द्रले प्रतिपादन गरेको पाँच विकास क्षेत्र र शक्ति विकेन्द्रिकरणको सिद्धान्त अनुसार हुने सरकार नेपालको लागि आवश्यक छ । कृषि, व्रmान्ति, औद्योगिकरण र रोजगारीकोे सृजना गरी स्वास्थ्य र शिक्षा सर्वसुलभ तरिकाले दिन प्रतिबद्ध नेतृत्व मुलुकको लागि आवश्यक छ । जनताको वास्तविक रुपमा सुख दुःख बुझेको व्यक्ति मुलुकको लागि आवश्यक छ ।

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे तपाईको विचार राख्नुस् न ?
यसै मेसोमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)ले कुनै अनुदान रकम दिन लाएको होइन । विशुद्ध अमेरिकी सैनिक रणनीति अनुसार भएकाले यसले देशमा द्वन्द्व निम्त्याउने र छिमेकीमा वैमनस्यता बढाउने भएकाले एमसिसी तुरुन्त खारेज गर्नु पर्छ । एमसिसीले नै अहिले जनता विभाजित भइसकेको हुनाले यो विषयमा कुनै सवाल जवाफ नगरी तुरुन्त खारेज गर्नुपर्छ । यसमै देश र जनताको भलाई छ ।

आगामी स्थानीय तहको निर्वाचनको राप्रपाले के कस्तो तयारी गरिरहेको छ ?
यता हामी विभिन्न संघ संगठन र पार्टीहरुको एकता र कार्यगत एकता गर्दै संगठन विस्तारको कामलाई अगाडि बढाइरहेका छौं । हाम्रै पार्टीले पनि महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । यही समिति मार्फत स्थानीय निर्वाचनको भित्री तयारी गरि रहेका छौं । अब स्थानीय तहको निर्वाचन परिणामले नै हाम्रो वास्तविक शक्ति देखाउने छ, हामी कहाँ पुग्नु पथ्र्याे कहाँ पुग्यो, कहाँ कहाँ चुक्यौं, त्यो देखिने छ र हामी सुधारिँदै अघि बढ्ने छौं । मलाई लाग्छ राजसंस्था र हिन्दु राज्य राप्रपाले बोकेको एजेण्डा जनताले समेत अंगिकार गरिसकेका छन् । मलाई लाग्छ, आगामी निर्वाचनमा राप्रपाको राम्रो परिणाम आउने छ ।

अन्तमा देशवासीलाई तपाईको के सन्देश छ ?
देशको विकास र समृद्धिको लागि राप्रपा नै अपरिहार्य शक्ति भएकाले राप्रपामा एकाकार हुन् र राप्रपामै आवद्ध हुन समस्त देशवासीमा हार्दिक अपिल गर्दछु ।

 

लोकप्रिय