पृथ्वी जयन्तीका अवसरमा गोरखा र नुवाकोटको विदुर नगरपालिकाले दियो सार्वजनिक बिदा

पृथ्वी जयन्तीका अवसरमा गोरखा र नुवाकोटको विदुर नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौँ । पृथ्वी जयन्तीका अवसरमा गोरखाको गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएका छन्।पुस २७ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाइँदैछ। नगर कार्यपालिकाको पुस १८ को निर्णयअनुसार पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए।

उनकाअनुसार नगरपालिका कार्यालय, वडा कार्यालयहरू, नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा दौड तथा दीप प्रज्ज्वलनलगायत कार्यक्रमसमेत राखेको छ।

यस्तै नुवाकोटको विदुरमा पनि सार्वजनिक बिदा दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरू, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेका छन्। पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ।

लोकप्रिय