चुलिदैँ व्यापार घाटा

चुलिदैँ व्यापार घाटा

 

काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनाको आंकडा हेर्दा व्यापार घाटा चिन्ताजनक देखिएको छ । वस्तु आयातको आंकडा १० खर्ब नजिकै पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–पुससम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यो गत आव २०७७÷७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत धेरै हो । सो वर्ष ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । तर, आंकडामा भने त्यसको प्रभाव परेको देखिँदैन । पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
६ महिनामा निर्यात भने १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको भएको छ । निर्यातको वृद्धिदर ९५.४८ प्रतिशत छ । अघिल्लो आवको ६ महिनामा वस्तु निर्यात ६० अर्ब ७९ करोड रुपैयाँ बराबरको थियो । बढ्दो आयात र कमजोर निर्यातका कारण व्यापार घाटा चुलिएको छ । आंकडा अनुसार ६ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४६.६४ प्रतिशत धेरै हो ।
त्यसैगरी भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामै वैदेशिक व्यापारको आकार भने ११ खर्ब नाघिसकेको छ । यस अवधिमा कुल ११ खर्ब १८ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४.८६ प्रतिशत बढी हो । गत आवमा वैदेशिक व्यापारको आकार ७२ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब ५३ अर्ब रुपैयाँको भइसकेको छ । फलाम तथा स्टीलको आयात ८४ अर्ब ९३ करोड रुपैयाँको भइसकेको छ । वनस्तति तेल तथा घिउजन्य वस्तुको आयात ७८ अर्ब ९ करोड र निर्यात ६८ अर्ब ६७ करोड रुपैयाँ बराबरको भएको छ ।

लोकप्रिय