कसैले पत्याए पो गठबन्धन !

कसैले पत्याए पो गठबन्धन !

अब नेकपा एमाले आउँदो चुनाबमा एक्लै लड्ने बन्दर घुर्की देखाउन थालेको छ । नेकपा एमालेका सभापति केपी ओली दुई तिहाईको सरकार जोगाउन नसकेर सडकमा पछारिए पछि ठाउँ–ठाउँमा बोल्दा सबै भन्दा बढि माधव नेपाल र त्यस पछि अलिक नरम भाषामा क. प्रचण्ड र फकाउने भाषामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई गाली र धम्की दिन थाक्नु भएको छैन । सबै स्थानमा बोल्दा आगामी निर्वाचनमा नेकपा एमाले कसैसंग गठबन्धन नगरी निर्वाचनमा एक्लै लड्ने बार बार बताउन थाल्नु भएको छ । ओलीले एमालेले एक्लै निर्वाचन लड्ने उद्घोष गरेसंगै ओलीका ठिमाहा सन्तानहरु पनि झन् तीन हात उफ्रेर एक्लै चुनाब लड्ने डंका पिट्न थालेका छन् ।
निर्वाचनमा बलियो दलले एक्लै लड्ने हिम्मत राख्नु अस्वभाविक होईन । तर प्रत्येक वालिग नेपालीलाई जानकारी छ, एक्ला एक्लैको निर्वाचन लडाईंमा एमाले कि त पत्तासाफ भएको छ कि त धुस्नो । पछिल्लो संसदको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको संयुक्त भएर निर्वाचन लड्दा झण्डै दुई तिहाई साँसद संख्या पुगेको थियो जसले जनताको म्याण्डेड जोगाउन सकेनन् । संघमा मात्र होईन ७ मध्ये ६ प्रदेश पनि नेकपा कै थियो जोगाउन सकेनन् । नेकपा मात्र होईन ओलीले आफ्नै एमाले समेत टुक्रा–टुक्रा बनाए । सरकार गुम्यो । बहुमत गुम्यो तर पनि दम्भ हराएको छैन ।
आफ्नो पार्टी जोगाउन नसक्ने, अरु पार्टीलाई जोडेर धोखा दिने चरित्र सबै दलका नेताहरुले प्रष्टसंग चिनेका छन् । अब एमालेसंग आउँदो निर्वाचनमा घाँटी जोड्न र पुच्छर गाँसिन सायद सजिलै अरु जालान, त्यसैले सानसंग भन्न थालेका छन्, चर्को आवाज दिएर चिच्याउन थालेका छन् ।’ नेकपा एमाले कसैसँग गठबन्धन गर्दैन ।’ अब छिटै स्थानीय निर्वाचन हुँदैछ । कुनै घटना नमोडिए आउँदो जेठ पहिलो दोश्रो सातामा स्थानीय तहको निर्वाचन हुनेछ ।
स्थानीय निर्वाचनमा एमालेसंग स्थापित दलहरु सहज रुपमा सहकार्य वा गठबन्धन गर्ने अबस्थामा छैनन । पटक पटक एमालेबाट धोखा खाईसकेका छन् कसैले पत्याए पो त गठबन्धन गर्नु । तर पनि कुरो यति मात्र होईन, भित्र–भित्र नेकपा माओवादी र अन्य दलहरुसंग गठबन्धन गर्न गराउन चिनियाँ राजदुत याँछीले निरन्तर प्रयास गरिरहेको ओपन सेक्रेट (यउभबल कभअचभतक)का रुपमा बिज्ञ जनमा जानकारी छ नै ।
उता चिनियाँ राजदुत खुल्लम खुल्ला एमालेको पक्षमा साँठगाँठमा उत्रने, अर्का तर्फ दक्षिणका छिमेकि पनि एमालेको निमित्त मार्ग प्रसस्त गर्न खुल्लम खुल्ला उत्रिएर साना मसिना दलहरु सिके राउत, बिप्लव लगायतसंग सहकार्य गर्न हात बढाई रहेका छन् । पुराना र जनाधार प्राप्त दलले चै पत्याउने अबस्था अझै बिकाश भईसकेको छैन, जुन एमाले नेतृत्वलाई राम्रै हेक्का छ । अनि भन्न बाध्य छन्–‘ एकलै चुनाव सामना गर्छौं !’
गत स्थानीय निर्वाचनमा नेकपा एमाले बलियो रुपमा स्थापित भयो । सात मध्ये ६ प्रदेशमा सरकार बनायो । केन्द्र सरकार त दुई तिहाईको थियो, सुझ बुझ र एकतृत गर्ने कौशलको अभावमा, दम्भ र घमण्डले ती सबै तासका घर साबित भए । सबै ‘स्वाहा’ भयो ! अब छिटै हुने स्थानीय निर्वाचनमा नेकपा एमालेलाई जनताले पत्याउने अबस्था छैन । दुई तिहाई दिंदा त जोगाउन नसकेको, आफ्नै पार्टी समेत जोगाउन नसकेको जनताको आक्रोशको सामना एमालेले गर्नु पर्नेछ ।
त्यो भन्दा बढी स्थानीय सरकारले गरेको स्वेछाचारी गतिविधि, अपार दर्शी र आर्थिक घोटला, व्यावसायीको हितमा राज्यकोषको हिना मिना, प्रकृतिको दोहन । उपभोक्ता समितिलाई ठेक्कापट्टा तर वास्तविक उपभोक्ताहरुलाई गुमराह यी र यस्ता अनगिन्ति प्रश्नको जवाफ अव एमालेसंग बैचारिक जवाफ छैन । हिजो सत्ता चलाउँदा जनताले रगत पसिनाले तिरेको करको पैसाको जुन चरम दुरुपयोग गरेर उडाईयो, बिकास गर्ने नाममा मुठ्ठी भरका आफन्तको फाईदामा लुटाईयो अब तिनिहरु पाखुरा सुर्कने वाहेक सर्वसाधारण मतदाताले र झुल बाहिर पारिएका पुराना एमालेले समेत वर्तमान एमालेलाई हात र साथ नदिने छर्लँङ्ग भएको छ ।
स्थानीय निकायमा जहाँ एमालेको बर्चस्व छ, त्यहाँ अनगिनत भ्रष्टाचार र अनियमितता भएको छ । जनतालाई थरि थरिका कर माथि कर थोपरेर थाँग्नो बनाईएकोछ । थिलथिलो बनाईएको छ । जनताबाट सोसिएको करको पैसा नितान्त व्यक्तिगत उपयोगमा आफ्ना चिण्डभुण्ड झुण्डहरु मार्फत खर्चिएको छ । सर्वसाधारणलाई ऐन देखाउने र आफुहरु चै मापदण्ड वा बिधान, कानुन माथि बसेर शाशकको पहिचान र शान देखाएको जनताले प्रत्यक्ष अनुभुत गरेका छन । यति होल्डिङ्ग, ओम्नी र वतास मात्र होईन आफ्ना कमजोरी ढाकछोप गर्न अरुलाई दोष दिएर पानी माथि ओभानो बन्ने काईते दाउ पनि मतदाताले सजिलै थेगिरहने छैनन् ।
आसन्न निर्वाचन एमालेलाई भारि पर्ने हुँदा पनि उसले सरकार र निर्वाचन आयोगको निर्वाचन गर्ने बिषयमा भएको सहमतिलाई गिजोल्ने, आफ्नै दवावमा चुनाबको मिति घोषणा गरेको भ्रम छर्ने रणनिति देखाएको छ । जनताबाट टाढा, हिजो संगै हिँडेका स्वजनसंग सत्रुवत व्यवहार मात्र सत्ता केन्द्रित राजनीतिका कारण सबैबाट एक्लिएको नेकपा एमाले उत्तरी छिमेकी राजदुत र दक्षिण छिमेकीका दुतहरुको चलखेल हाबि नभएमा होली वाईनले थप ट्रिप्स नदिएमा, एक्लाएक्लै भिड्नुको न बिकल्प छ न अवस्था छ ।

लोकप्रिय