एमालेले गर्ने भयो सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचन तयारी थालेको छ । आफूलाई निर्वाचनतर्फ केन्द्रित गर्दै एमालेले देशका सातै प्रदेशमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । स्थानीय निर्वाचन तयारीका लागि भन्दै महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरूलाई पत्र पठाएका छन् । त्यसमा उनले निर्वाचन तयारीमा जुट्न भनेका छ । स्थानीय निर्वाचन लक्षित दुई दिने प्रशिक्षण कार्यक्रमा सातै प्रदेशका राजधानी र मुख्य सहरमा हुनेछ । प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् । उद्घाटन कार्यक्रममा केन्द्रीय नेताहरु काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट सहभागी हुनेछन् भने प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी पनि सहभागी हुनेछन् ।
एमालेले यो प्रशिक्षणमा दसौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे चर्चा गर्ने भएको छ । त्यसैगरी सवल, गतिशील र अनुशासित पार्टी निर्माण तथा राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु पनि समावेश गरिएको छ । स्थानीय तहमा पार्टीका पाँच वर्षका उपलब्धी र अनुभवहरूबारे पनि कुरा गर्ने भएको छ । त्यसैगरी स्थानीय तह निर्वाचनको तयारी तथा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरुबारे पनि नेताहरुले प्रशिक्षण दिने भएका छन् ।
जस अनुसार प्रदेश १ मा फागुन १–२, विराटनगर, मधेश प्रदेशको फागुन ३–४, जनकपुर, बागमती प्रदेशको फागुन ६–७, काठमाडौं, गण्डकी प्रदेशमा फागुन ८–९, पोखरा, लुम्बिनी प्रदेशमा फागुन ११–१२, बुटवल÷दाङ, कर्णाली प्रदेशमा फागुन १४–१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशमा फागुन १६–१७, धनगढी गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्