देउवा सरकारले नेता–कार्यकर्तालाई बाँड्यो ९ करोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा आर्थिक सहायताको नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । आर्थिक सहायताको नाममा बाँडिने यस्तो रकम धेरैजसो सरकारमा सहभागी दलका प्रभावशाली नेता तथा कार्यकर्तालाई दिने गरिन्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८÷७९ सुरु भएपछिको ६ महिना (साउन देखि पुससम्म) मा आर्थिक सहायताको नाममा ९ करोड ५५ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ । आर्थिक सहायता गृह मन्त्रालयको सिफारीसमा मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपछि वितरण गर्ने गरिन्छ । तर कतिपय आर्थिक सहायताको प्रस्ताव सिधै मन्त्रीपरिषद्बाट निर्णय भएपछि मात्र गृहमा आउने गरेको स्रोतको दाबी छ । यस विषयमा गृह मन्त्रालयले भन्यो, आर्थिक सहायता प्राप्त गर्ने व्यक्तिको जानकारी दिन नमिल्ने बतायो ।
नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ (दोस्रो संशोधन २०७३) को आधारमा यस्तो आर्थिक सहायता वितरण गर्दै आइएको छ ।
आर्थिक सहायताका नाममा मनपरी रकम वितरण हुनथालेपछि यसलाई रोक्न कार्यविधि बनाइएको थियो । कार्यविधि बनाइए पनि आर्थिक सहायताका नाममा राज्य कोष दोहन गरी नेता कार्यकर्ता पोस्ने कार्य भने रोकिएको छैन ।
वास्तवमा राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई औषधोपचार तथा आर्थिक सहायता तोकिएको दरमा उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिमा औषधोपचारका लागि बाहेक अन्य प्रयोजनका लागि कुनै पनि व्यक्तिलाई आर्थिक सहायता उपलब्ध नगराइने कुरा स्पष्ट लेखिएको छ । त्यस्तै कार्यविधिमा पूर्व प्रधानमन्त्रीलाई बढीमा १५ लाख रुपैयाँ दिन मिल्ने जनाइएको छ ।
अन्य विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकालाई बढीमा ७ लाख रुपैयाँसम्म आर्थिक सहायता दिन सकिने व्यवस्था कार्यविधिमा गरिएको छ । कार्यविधिमा यस्तो आर्थिक सहायता प्राप्त गर्नेको विवरण वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्ने स्प्ष्ट किटान गरिएको छ । तर गृहले केही वर्षयता यस्ता विवरण सार्वजनिक गरेको छैन ।
प्रतिकृया दिनुहोस्