‘सिंघम’को नक्कल गर्ने मन्त्री आलेको असली हैसियत के ?

‘सिंघम’को नक्कल गर्ने मन्त्री आलेको असली हैसियत के ?

 

काठमाडौं । पछिल्लो ससमय पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सिंघम स्टाइलमा अघि बढिरहेका छन् । आफ्नो मन्त्रालय अन्र्तगतका कर्मचारीहरुलाई विनामेसै थर्काएर सिंघमको नक्कल गरिरहेका छन् । आखिर उनको असली हैसियत के हो त ?
खासमा पर्यटनको विकास नै नेपालको समृद्धिको आधार हो । पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । तर मन्त्री आले आफ्नो जिम्मेवारी पत्ता लगाउन समेत सकेका छैनन् । पर्यटन क्षेत्रको विकास लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान यतिबेला सेतो हात्ति बनेको छ । पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने मात्र होइन सो प्रतिष्ठानलाई पर्यटन विश्वविद्यालय बनाउने प्रक्रिया अन्योलमा परेको छ ।
त्यसैगरी नेपालको हवाई क्षेत्र असुरक्षित भएको र नागरिक उड्डयन क्षेत्रमा प्रशस्त विकृति रहेको भन्दै युरोपेली संघ (ईयू)ले नौ वर्षदेखि प्रतिबन्ध लगाउँदै आएको विषय समेत पर्यटन मन्त्री आलेले सुईंको पाएका छैनन् । जसको कारण युरोपबाट नेपाल भ्रमणमा आउन चाहने लाखौं लाख पर्यटकहरु नेपाल आउन सकेका छैनन् ।
ईयूले नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्दै सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । कालोसूचीमा राखेसँगै त्यससँग सम्बद्ध २८ देशमा नेपालको हवाई उडान प्रतिबन्धित रहँदै आएको छ । लगातार नौ वर्षदेखि इयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखे पनि त्यसलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नेतृत्वमा रहेकाहरूले कुनै चासो दिएका छैनन् ।
ईयूको प्रतिबन्ध कायमै रहेको अवस्थामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दुई महिनापछि अप्रिलमा नेपालको हवाई क्षेत्रको अडिटिङ गर्न नेपाल आउने तयारी गरिरहेको छ । आइकाओले यहाको नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा अन्य हवाई क्षेत्रको समेत अडिटिङ गर्ने जनाइएको छ ।
आइकाओ अडिटिङ गर्न आउनुअगावै इयूको कालोसूचीबाट नेपाललाई हटाउने गरी आवश्यक पहल गर्न र सोहीअनुसारको वातावरण सिर्जना गर्न सरोकारवालाले सरकारलाई सुझाएका छन् । तर, पर्यटनमन्त्री आलेलगायतका उच्चपदस्थहरूले भने इयूको कालोसूचीबाट नेपाललाई हटाउने विषयलाई प्राथमिकतामा राख्न सकेका छैनन् ।
यी र यस्ता विषयहरुमा मन्त्री आलेले कुनै ध्यान दिन सकेका छैनन् । आफूँले भनेका नमान्ने कर्मचारीहरुलाई कारबाही गर्ने र मिडियाबाजी गर्ने भन्दा उनको कुनै सक्रियता यतिबेला देखिएको छैन ।

 

लोकप्रिय