ढिलो चाँडो हो तर राजतन्त्र फर्किन्छ

ढिलो चाँडो हो तर राजतन्त्र फर्किन्छ

आङ निमा शेर्पा

केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुकको वर्तमान अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?
संघीय गणतन्त्रमा व्यापक विकृति विसंगति भयो, अनियमितता भयो, आपसमा द्धोन्द निम्तिने अवस्था छ । हाम्रो शान्त देशलाई संघीयताको मारमा पारेर प्रमुख दलहरु अघि बढिरहेको देखिन्छ । एक राजा भएको ठाउँमा सयौँ राजा भएर देश अस्तव्यस्त पारेका छन् । संघीयताले देशै असफल पार्ने संकेत देखिदैछ । सरसर्ती हेर्दा कार्यपालिका, न्यायपालिका व्यवस्थापिका राम्ररी चलेको छैन , सत्तारुढ गठबन्धनका दलहरु आपसी स्वार्थमा लिप्त छन् भने प्रमुख प्रतिपक्ष दल आफ्नै तालको राजनीति गरिरहेको छ । व्यापक विरोधपछि प्रधानन्यायधीशमाथि संसदमा महाअभियोग प्रस्ताव लगाइएको अवस्था छ । त्यो महाअभियोग प्रस्ताव पास हुने वा नहुने ठेगान छैन । प्रमुख प्रतिपक्ष दल एमालेले संसद चल्न दिएको छैन, यसरी हेर्दा प्रमुख दलहरुकै कारण जनताले अहिलेको अवस्था भोग्नु परेको छ । प्रमुख दलहरु बाहिर एउटा कुरा गर्छन्, भित्र अर्को कुरा गर्छन । अब देशको अवस्थालाई लिएर जनताले विकल्प खोजिरहेका छन् । यो स्वभाविक छ । अब मुलुकमा राजनीतिक विकल्प दिन हामी तयार हुनुपर्छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसलाई यहाँले कसरी मुल्याङकन गर्नु भएको छ ?
यसै मेसोमा एमसिसीको बारेमा चर्चा परिचर्चा भइरहेको छ । अहिलेसम्म मैले बुझे अनुसार एमसिसी देशको हितमा छैन, हानिकारक छ , एमसिसीको बुँधा बुँधा सच्चाएर देशको हित हुने गरी मात्र एमसिसी पास गर्नुपर्छ । हतारिएर निर्णय गरेर फुर्सदमा पछुताउनु हुँदैन । सडकमा जनता के भनिरहेका छन् , देउवा ओली, प्रचण्ड, माधव नेपालले बुझ्नु पर्छ । होइन भने हाम्रो देश अफगानिस्तान जस्तो बनाउने अमेरिकी रणनीति हुन सक्ने सरसर्ति हेर्दा मैले बुझेको छु । एमसिसी सहयोग परियोजना मात्र हो, संसदमा पास गर्न नपर्ने भए यसरी एमसिसीको विरोध हुने थिएन । एमसिसी खास के हो नोपलसँगको एमसिसी सम्झौतामा के के छ भनेर सरकारले पहिले पत्रपत्रिका मार्फत जनतालाई देखाउनु पर्छ । होइन भने लुकाएर एमसिसी पास गर्न पाइदैनेछैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कमल थापा अलग हुनुलाई यहाँले कसरी लिनुभएको छ ?
कमल थापा जस्तो बिसौं वर्ष पार्टीमा अध्यक्ष भएर बसेको मान्छेले अप्रत्याशित रुपमा पार्टी छोडेर नयाँ पार्टीमा लागेको देख्दा मलाई अचम्म र दुःख लागेको छ । उहाँले गिता छोएर अब पार्टी नफुटाउने कसम खानु भएको थियो । तर त्यो गिताको कसम कहाँ गयो ? राप्रपा नेपालमा पनि राप्रपाकै मान्छे जाने हुन् । त्यहाँ काँग्रेस कम्युनिष्टका मान्छे आउदैनन् । त्यस कारण कमलजीले कसम खाएको व्यर्थ भयो ।

केहि अघि भएको राप्रपाको केन्द्रीय महाधिवेशनले जनतालाई के सन्देश दियो ?
यसै मेसोमा राप्रपाको केन्द्रीय महाधिवेशनले युवा पुस्ताको काँधमा जिम्मेवारी दिएको छ । राजसंस्था र हिन्दु राज्यको पक्षमा अडिग भएर लाग्न, सबै मित्रहरुले अध्यक्ष राजेन्द्र लिङ्देनलाई मौका दिनु भएको छ । यस अवसरमा सबै देशवासीलाई आव्हान गर्दछु कि यो देश नविगार्न राजा र हिन्दु राज्य पूनस्थापित गर्ने अभियानमा सरिक हुन, एकजुट हुन र देश जोगाउन सम्पूर्ण पार्टी पंक्ति सरिक हुनुहोस् । देश राप्रपाबाहेक अरुले जोगाउन नसक्ने प्रमाणित भइसकेको छ । राप्रपाको मुख्य एजेण्डा हिन्दु राज्य र राजसंस्था भएकाले यस एजेण्डामा प्रतिवद्ध भएर गाउँ गाउँ टोल टोल जान राप्रपाका नेता–कार्यकर्ताले अब वेर गर्नु हुँदैन ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने अनुसार काम गर्न सक्नु होला ?
सबैभन्दा पहिले हाम्रो अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार मुक्त देश बनाउने वाचा पुरा गर्नु भएको छ, त्यो वाचा उहाँले पुरा गर्नु हुन्छ भन्ने मैले विश्वास लिएको छु । राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष भए पछि विभिन्न संघ संस्था, व्यक्तिहरु राप्रपामा प्रवेश गर्ने, समाहित हुने क्रममा व्यापक भइरहेको छ । यो हाम्रो पार्टीको भविष्यको लागि शुभ संकेत हो । राजेन्द्र लिङ्देनले राजा र हिन्दु राज्य पूनस्थापनामा अब अझ जोडदार रुपमा लाग्नु हुनेछ भन्ने मैले विश्वास र भरोसा गरेको छु । यसमा सबैको साथ र सहयोग हुनेछ । अब राप्रपालाई वैकल्पिक शक्ति बनाउने बेला आएको छ । जनताको शुख दुःखमा साथ दिने पार्टी बनाउनुपर्छ राप्रपालाई । राजेन्द्र लिङ्देन राप्रपामा अध्यक्ष पछि अब नयाँ पुस्ताले केहि गर्नु हुन्छ भन्ने जनताले विश्वास लिएका छन्, जनताको यो विश्वासलाई अध्यक्ष लिङ्देनले आत्मासाथ गरेर अघि बढ्नु हुनेछ, राप्रपाले हिडिरहेको यहि बाटोबाट राप्रपाको भविष्य छ । मुलुकको पनि भविष्य छ ।

अब राजतन्त्र फर्किएला ?
अहिलेको अवस्थामा भइरहेको विकृति विसंगति, भ्रष्टाचारलाई हेर्ने हो भने राजसंस्था यथासक्य चाडो पूनस्थापना गर्नुपर्छ । ढिलै होला, तर राजतन्त्र फर्किन्छ । राजतन्त्र देश र जनताको आवश्यकता भइरहेको छ ।

देशव्यापी भइरहेको महँगीलाई यहाँले कसरी मूल्याङ्कन गर्नु भएको छ ?
दिनदिनै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भइरहेको छ, नून, तेल खाद्यान्नलगायतमा व्यापक रुपमा मुल्य वृद्धि भइरहेको छ । यसले गर्दा सर्वसाधारण जनता मारमा परिरहेका छन्, मूल्य वृद्धि रोक्न अब जनता सडकमा उत्रने बेला आएको छ । मूल्य वृद्धिमा सकार मौन बसिरहेको छ । वर्तमान सरकारले जनताको दुःख हेर्दैन भन्ने प्रमाणित भइसकेको छ । १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन्छ खाद्यान्नमाव्यस्तै छ । अब जनताले कसरी चित्त बुझाउने ।

सत्तारुढ गठबन्धन र एमालेका क्रिायकलाप यहाँले कसरी हेर्नु भएको छ ?
काँग्रेस होस् या एमाले या माओवादी या एकिकृत समाजवादी पार्टी उनीहरु आपसमा जुधे जस्तो गर्छन् भ्रष्टाचारमा यि तिनै दल एक हुन्छन् काँग्रेस कम्यूनिष्ट मिलेर देश खोक्रो पारेका छन् । यो अवस्थामा हामीले जनताको घरदैलोमा पुगेर जनतालाई घचघचाउने बेला आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको कस्तो तयारी गरिरहेको छ ?
राप्रपाले स्थानीय निर्वाचनको तयारी थाली सकेको छ । निर्वाचनको तयारी र परिचालनका लागि पार्टी केन्द्रीय महामन्त्री भुवन पाठकको संयोजकत्वमा समिति गठन गरि सकेको छ । स्थानीय निर्वाचनमा हामी देश व्यापी उम्मेदवार उठाउँछौं । समय, ठाउँ अनुसार कुनै दलसँग तालमेल पनि हुन सक्छ । यो निर्वाचन जनतालाई हाम्रो एजेण्डामा सहमत गराउने अवसर पनि हो । सबै दल हेरियो, अब राप्रपा हेर्छाैं भनेर जनताले भनिरहेका छन् । त्यसैले अब हुने सबै निर्वाचनमा राप्रपा शानदार रुपमा विजयी हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

 

लोकप्रिय