एमसीसीले सत्ता गठबन्धन विघटनतर्फ उन्मुख
काठमाडौ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा विमति बढ्दा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि कांग्रेस र एमाले निर्णायक संवादमा छन्, यद्यपि वाम गठबन्धन बनाउन मसिनो अग्रसरता पनि सुरु भएको छ । अब कांग्रेससँग लोकतान्त्रिक वा पुराना सहयात्रीसँग वाम गठबन्धन बनाउने भनेर छान्ने सुविधा एमालेलाई प्राप्त भएको छ ।
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयमा पाँचदलीय गठबन्धनभित्र सहमत नभएपछि कांग्रेस र एमालेबीच दुई सातायता सघन वार्ता हुँदै आएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सामूहिक र एक्लाएक्लैसमेत छलफल भए । बिहान बानेश्वरस्थित संसद् भवन र साँझ बालुवाटारमा भएका वार्ता सहमति नजिक पुगेको भन्दै नेताहरूले शुक्रबार फेरि बस्ने जनाएका छन् ।
बालुवाटार बैठकमा सामूहिक छलफलपछि देउवा र ओलीबीच एक–एक सहयोगी नेता राखेर एक घण्टासम्म छलफल भएको थियो । देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई साथमा राखेर खुलस्त छलफल गरेका थिए । स्रोतका अनुसार सभामुखविरुद्ध प्रस्ताव ल्याउनेबाहेक धेरै विषयमा दुई नेताबीच समझदारी बनेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले ‘माओवादीलाई कहिले तपाईंहरूले बोक्ने, कहिले हामीले बोक्ने नगरौं’ भन्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री देउवाले पनि गठबन्धनका साझेदारहरूले आफूलाई धोका दिएको भन्दै ओलीको प्रस्तावमा समर्थन जनाएका थिए । ‘गठबन्धनवालाले मलाई धोका दिए । तपाई–हामी मिलेर जानुपर्यो । एमसीसी सम्झौता पनि अनुमोदन गर्नुपर्यो । तपाईंहरू जे भन्नुहुन्छ अब त्यो गर्न तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । उनका अनुसार ओलीले दोहोर्याएर भनेका थिए, ‘जे गर्ने हो तपाईं–हामी दुई पक्ष बसेर गरौं । अब माओवादीलाई सिनबाट कटाऔं ।’
दुईपक्षीय छलफलमा एमसीसी अनुमोदनका लागि एमाले र कांग्रेस मिलेर जाने, देउवा सरकारले नै संघीय निर्वाचन गराउने, प्रदेश सरकारमा साझेदारी गर्ने र सभामुखविरुद्ध प्रस्ताव ल्याउने विषयमा छलफल अगाडि बढेको छ । बैठकमा सहभागी नेताले भने, ‘यति बुझ्नुस् हालको गठबन्धन टुट्यो । औपचारिक रूपमा घोषणा हुन मात्रै बाँकी हो ।’
पछिल्लो पटक एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष र सहयोगीमार्फत लगातार छलफलमा रहेका देउवा सत्ता गठबन्धन टुटेमा सरकारको भविष्य के हुन्छ भन्ने चिन्तामा थिए । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । माओवादी र समाजवादी सरकारबाट बाहिरिएपछि आफूलाई समर्थन नदिएर ओली आफैं प्रधानमन्त्री बन्ने अभ्यासमा लाग्ने हुन् कि भन्ने आशंका देउवालाई थियो । दुई नेताबीचका ‘वान अन वान’ भेटमा अविश्वास हटाउने काम भएको स्रोतले बतायो ।
‘एमसीसी सम्झौता अनुमोदन हुँदा माओवादी र समाजवादी सरकारबाट बाहिरिए सरकार अल्पमतमा परे पनि विश्वासको मत दिन एमाले सहमत भएको छ, तत्कालै सरकारमा जान पनि एमाले इच्छुक छैन, बरु प्रदेश सरकारमा एमालेको चासो छ, त्यसमा कांग्रेस सकारात्मक छ,’ कांग्रेस स्रोतको भनाइ छ ।
आचरणविपरीत काम गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव दर्ता गर्न कांग्रेस पनि सकारात्मक रहेको एमाले नेताहरूको भनाइ छ । उनीहरूका अनुसार पहिले एमसीसी सम्झौता अनुमोदन गर्ने र त्यसपछि सभामुखविरुद्ध दुई तिहाइ पुग्ने निश्चित भएपछि मात्र प्रस्ताव दर्ता गर्ने धारणा कांग्रेसले राखेको छ ।
सभामुखलाई हटाउन एक चौथाइ सांसदले प्रस्ताव राख्न सक्छन् तर त्यस्तो प्रस्ताव पारित गर्न तत्काल कायम सदस्य ९२ सय ७१० को दुई तिहाइ ९१ सय ८१० संख्या आवश्यक पर्छ । एमाले ९९७० र कांग्रेस ९६१० मिल्दा १ सय ५८ सांसद पुग्छन् । लोसपाका १३ सांसदले साथ दिँदा पनि १ सय ७१ मात्रै पुग्छ । यी मध्येमा पनि कांग्रेसका दुई सांसद बिरामी छन् । त्यसैले सभामुखविरुद्ध प्रस्ताव नै पारित गराउन १२ सांसद अपुग हुन्छन् । जनता समाजवादी पार्टी ९जसपा० मा नेता बाबुराम भट्टराई समूहबाट करिब १२ सांसद यो प्रस्तावमा जुट्ने कांग्रेसको आकलन छ । तर, यसरी प्रस्ताव पारित हुने सुनिश्चित नभएकाले सभामुखविरुद्ध प्रस्ताव दर्ता गराउन आफूहरू तयार नभएको कांग्रेसका एक नेताले भने ।
एमालेसँग मिलेर सभामुखविरुद्ध प्रस्ताव ल्याउन कांग्रेसलाई नैतिक दबाब पनि छ । माधव नेपालसहित १४ सांसदले पार्टी निर्णय नमानेको, ओली सरकार ढालेको र देउवालाई प्रधानमन्त्री बनाउन सघाएका कारण एमालेले उनीहरूमाथि कारबाहीको माग गर्दै आएको छ । ‘अब आफूलाई नै प्रधानमन्त्री बनाउन पार्टीसमेत फुटाएका सांसदहरूलाई किन कारबाही नगरेको भनेर सभामुखविरुद्ध प्रस्ताव ल्याउन हुन्छ कि हुन्न भन्ने विषयमा कांग्रेसभित्र पनि छलफल छ, त्यसमाथि पारित हुने सुनिश्चित नभएकाले धैर्य गरौं भन्ने धारणा हो,’ कांग्रेसका एक नेता भन्छन् ।
बैठकमा सहभागी कांग्रेसका एक नेताका अनुसार नयाँ समीकरण बनाउने विषयमा दुई दलबीच करिब करिब सहमति छ । ‘सभामुखकै विषयले औपचारिकता दिन नसकिएको हो,’ उनले भने, ‘तत्काल एमसीसी अनुमोदन गराउनुपर्ने प्राथमिकता हाम्रो छ, उहाँहरूको सभामुख हटाउने विषय छ, यसमा सहमतिको बिन्दु कसरी पहिल्याउन सकिन्छ भन्ने विषयमा छलफल (शुक्रबार) पनि हुन्छ ।’
छलफल सहमतिउन्मुख रहे पनि सभामुख सापकोटालाई हटाउन एमालेले राख्दै आएको ‘सर्त’ लाई कसरी सम्बोधन गर्ने भन्ने विषय टुंगो लाग्न नसकेको नेताहरूको भनाइ छ । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले छलफल सकारात्मक रहेको बताए । ‘आधारभूत रूपमा हामी हाम्रै धारणामा अडिग छौं । कांग्रेसले पनि आफ्ना सजिला, अप्ठ्यारा सुनाएको छ । तर प्रधानमन्त्री चिन्तित हुनुहुन्छ भन्ने बुझिन्छ,’ पोखरेलले भने, ‘छलफल गम्भीर रूपमा अगाडि बढेका छन् । ठोस भइसकेको छैन । शुक्रबार फेरि बस्ने भन्ने छ ।’
सञ्चारमन्त्री कार्कीले संसद् सञ्चालन गराएर एमसीसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव नै प्रधानमन्त्रीले बिहान र रातिको बैठकमा एमालेका नेताहरूसँग राखेको बताए । ‘ओलीजीले पहिला हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुहोस् भनेर सभामुखकै विषय राख्नुभएको छ,’ बैठकमा सहभागी कार्कीले भने, ‘संसद्मा प्रवेश गर्ने बाटो खुलेपछि हामी आफ्नो विचार राख्छौं । हामी संसद्को मूलभूत मूल्य मान्यताप्रति प्रतिबद्ध छौं । हामी संसद्लाई प्रभावकारी बनाउन चाहन्छौं । निष्कर्षमा अझै पुगिसकेको अवस्था छैन ।’
कान्तिपुरबाट
प्रतिकृया दिनुहोस्