अर्बपति खरिदार बस्नेतको रामकहानी
मालपोत कार्यालय चावहिलमा बिगत १० बर्षदेखि कार्यरत खरिदार लक्ष्मण बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा गरेको छ ।
अख्तियारको टोलीले बिहीबार खरिदार बस्नेतसहित होटल ब्यवसायी मिना मगर र लेखापढी ब्यवसायी विनोद श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं महानगरपालिका चावहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट घुुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खरिदार बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रक्रियाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियारको टोलीले निगरानी गरेको थियो । सेवाग्राहीसँग घुस लेनदेन गरिसकेपछि बस्नेतसहितका तीनै जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
दर्जाले खरिदार बस्नेत मालपोत कार्यालयमा अकूत सम्पत्ति कमाउनेमा ५ जनाभित्र पर्ने उनलाई नजिकबाट चिन्ने कर्मचारीहरु नै चर्चा गर्दछन् । उनी निजामती सेवा ऐन नियम नलाग्ने कर्मचारीमा पर्दछन् ।
सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा नियमावली अनुसार हरेक २ बर्षमा निजामती कर्मचारीको सरुवा गर्दछ । तर उनलाई निजामती सेवा ऐनको त्यो प्रावधान कहिल्यै लागू हुन सकेन ।
भूमिब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक जीतबहादुर थापा, केशरबहादुर बानियाँ, रोहित भट्टराई, मुक्ति आचार्यदेखि सबैलाई प्रभावमा पारी उनी मालपोत कार्यालय चावहिलमा कार्यरत रहेका थिए ।
२०७६ कात्तिकमा बस्नेतको समायोजन गरी भूमिब्यवस्थापन तथा अभिलेख विभागले बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरेको थियो । तर बस्नेतले एक महिनासम्म विभागमै पत्र लुकाई पुनः चावहिलमै पदस्थापन गराउन सफल भए ।
चावहिल मालपोतबाट गैरकानुनी रुपमा सरकारी जग्गादेखि छुट जग्गा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका खरिदार बस्नेतले तत्कालीन भूमिब्यवस्था मन्त्री पदमा अर्याललाई नोटका बिटा फालेर सरुवा रोकाए । र बर्दिबास मालपोत कार्यालयको पदस्थापन बदर गरी चावहिलमै गराएका थिए ।
भूमि ब्यवस्थापन विभागका तत्कालीन महानिर्देशक कृष्ण ज्ञवालीले पनि उनको सरुवा बदर गर्दा लाभ लिएको आरोप लागेको थियो ।
धादिङ मालपोत कार्यालयमा हुँदा खरिदार बस्नेतसहितका कर्मचारीले राजमार्गको सयौं रोपनी पर्ति जग्गा घुस लिंदै गैरकानुनी रुपमा दर्ता गरेको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ ।
धादिङको गैरकानुनी जग्गा दर्तामा खरिदार बस्नेतसहितका कर्मचारीको अनुसन्धान तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतले रोकेको स्रोत बताउँछ ।
धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानुनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप बस्नेतमाथि छ ।
राजमार्गछेउमा १ रोपनी जग्गा हुनेलाई पछाडिको जंगलसमेत हालेर २ वटा जीरो थपी १०० रोपनीको पूर्जा दिने काममा पनि बस्नेत संलग्न थिए ।
जुन जग्गाको एक चरणको छानबिन सकेर मुद्दा दायर भइसकेको छ भने अर्को चरणको छानबिन अबरुद्ध छ ।
खरिदार बस्नेतले दीप बस्नेतलाई मालपोतबाट प्राप्त घुसको मोटो रकम बुझाएका कारण धादिङको जग्गाको अनुसन्धान रोकिरहेको छ ।
चावहिल मालपोत कार्यालयका खरिदार बस्नेत मालपोतका कर्मचारीबीच अर्बपतिका रुपमा चिनिन्छन् ।
काठमाडौं उपत्यका मालपोत कार्यालयहरू सबै चाहार्दै सरकारी जग्गा गैरकानुनी रूपमा दर्ता गर्नेदेखि छुट जग्गा दर्ता र सेवाग्राहीसँग घुस असुली गरी चावहिलको भत्केको पार्टीमा तीन रोपनी क्षेत्रफलमा घर बनाएका छन् ।
उनले यसका अलावा काठमाडौका धेरै ठाउँमा जग्गा जोडेका छन् । छोराको नाममा चावहिलकै नमस्ते नेपाल सहकारीमा ५ करोड भन्दा बढी लगानी गरेका छन् । उक्त सहकारीमा उनले छोरालाई कर्मचारी नै राखेका छन् ।
अतिरिक्त उनको धेरै ठाउँमा जग्गा छ । उनले आफन्तका अलावा झड्केला छोराको नाममा समेत धेरै ठाउँमा घरजग्गा खरिद गरी राखेको मालपोत कार्यालय चावहिलका एक लेखापढी ब्यवसायी बताउँछन् ।
१० बर्षदेखि चावहिल मालपोत कार्यालयको मुद्दा फाँटमा बसी पचासौं रोपनी छुट जग्गा दर्ता गर्दै दैनिक लाखौैं घुस थकाली रेष्टुरेन्टमै बसेर असुल्दैआएका थिए ।
उमेर ढाँटेर ७ महिना बढी मालपोत कार्यालय चावलिहको कार्यालय प्रमुखमा जागिर खाएका कलकबहादुर खड्का र बस्नेतले मिलेर सयौं रोपनी छुट जग्गा गैरकानुनी रुपमा दर्ता गरेकोबारेमा समेत अख्तियारले छानबिन गरेमा करोड होइन, अरबका जमिनको हेराफेरी गरेको फेलापर्ने स्रोत बताउँछ ।
कानुनविपरीत छुट जग्गा दर्ता गरेको आरोपमा २ बर्षअघि कर्मचारीसहित ५४ जनाविरुद्ध मुद्दा दायर भयो । तर घुस असुली गर्ने मुख्य भूमिका निभाएका खरिदार बस्नेत दीप बस्नेतलाई भनसुन गरी उन्मुक्ति पाए । छुट जग्गा दर्तामा उनले नै सबै डिल गरेका थिए । तर मुद्दा भने अरु कर्मचारीबिरुद्ध मात्र दर्ता गरी अख्तियारले बस्नेतलाई उन्मुक्ति दिएको थियो ।
खरिदार बस्नेत : मालपोतका ठूला माछा
अख्तियारले नियन्त्रणमा लिएकामध्येमा सिमरा मालपोतका तत्कालीन निमित्त प्रमुख मदन गुप्ता, ललितपुरका बद्री ढकाल भन्दा पनि ठूला माछा हुन् बस्नेत । अख्तियारले नियन्त्रणमा लिएका दर्जाले साना तर पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्ने ठूला माछामा पर्दछन् बस्नेत । डिल्लीबजारको रजिष्ट्रेसन र मुद्दामा फाँटमा कार्यरत उनीजस्तै अर्बपति नायबसुब्बा लक्ष्मण बस्नेतहरुलाई भने अख्तियारले अहिले पनि पक्राउ गर्न सकेको छैन । नेपाल फेस
प्रतिकृया दिनुहोस्