नेपाल आयल निगम ७ वर्षको बचत ८ महिनामै सकियो

नेपाल आयल निगम ७ वर्षको बचत ८ महिनामै सकियो

काठमाडौं । एक वर्षदेखि निरन्तर बढेको पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यका कारण वित्तीय संकटमा परेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसनलाई मार्च महिनाको पहिलो किस्ता बापत सोमबार १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेपछि कोष रित्तिने अवस्थामा पुगेको छ ।
इन्धनको मूल्य वृद्धिका कारण झण्डै ६ महिना अवधिमा मूल्य स्थिरीकरण कोषमा सञ्चित मध्येबाट ८ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको निगमका नायव कार्यकारी निर्देशक एवम् फाइनान्स प्रमुख नागेन्द्र साहले बताए । दैनिक बिक्रीको रकमबाट इन्धन खरिदको रकम तिर्न गत कात्तिकदेखि नसकेको निगमको मूल्य स्थिरीकरण कोष पनि रित्तिने अवस्थामा पुगेको उनको भनाइ छ ।
भारतीय आयल निगमलाई मार्च महिनाको दुई किस्ता मध्ये पहिलो किस्ता तिर्न अपुग थप ४ अर्ब २५ करोड रुपैयाँ स्थिरीकरण कोषबाट चलाएपछि थप आर्थिक दबाब बढेको साहले बताए ।
वि.सं. २०७१ सालदेखि आव २०७७ सम्म ७ वर्ष निरन्तर उठाएर राखिएको १३ अर्ब हाराहारीको कोषमा अब ४ अर्ब ४५ करोड मात्रै बाँकी रहेको उनको भनाइ छ । कोष सञ्चालक समितिको आइतबारको बैठकले यो महिनाको पहिलो किस्ता बापत इण्डियन आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नु पर्ने १४ अर्ब ३० करोड रुपैयाँमध्ये अपुग रकम निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

लोकप्रिय