एमालेमा स्थानीय निर्वाचनका उम्मेदवार छान्ने अधिकार बाँडफाँड
काठमाडौ । नेकपा एमालेले स्थानीय निकायको निर्वाचनका लागि पार्टीबाट टिकट टुंगो लगाउने अधिकारबारे निर्णय लिएको छ । आज मंगलबार बसेको सचिवालय बैठकले यसबारे निर्णय लिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेमा महानगरपालिकाको मेयर र उपमेयर केन्द्रले टुंगो लगाउने भएको छ । यसको अर्थ अध्यक्ष केपी शर्मा ओलीले यसमा सिधा निर्णय लिनेछन् । महानगरपालिकाको र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट जिल्ला हुँदै प्रदेश कमिटीमा गई केन्द्रीय कमिटीले सिफारिश नामहरुबाट अन्तिम निर्णय लिनेछ ।
नगरपालिकाका मेयर र उपमेयरका अलावा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले टुंगो लगाउनेछ । वडाध्यक्ष र वडा सदस्यको उम्मेदवारको टुंगो जिल्ला कमिटीले लगाउने तय भएको छ ।


प्रतिकृया दिनुहोस्