बैशाख १ गतेबाट गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान हुने

बैशाख १ गतेबाट गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान हुने

 

बुटवल । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट विमानस्थल उद्घाटन गराउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना यस विमानस्थलमा हालसम्म कुवेतको जजिरा एयरवेजले नियमित उडानका लागि निवेदन दिइसकेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार सम्भवतः जजिरा एयरवेजले नै यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्नेछ ।
जजिराले आउँदो बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ । जजिराले सातै दिन उडानका लागि प्राधिकरणमा निवेदन दिएको छ । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि नेपालमा उडान भर्दै आएका अरू विमान कम्पनीहरूले पनि इच्छा देखाएका छन् । प्राधिकरणका अनुसार पाँच÷सात विमान कम्पनीहरूले उडानका लागि छलफल गरिरहेका छन् ।
त्यसैगरी जजिरासहित नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्छ । अन्य विभिन्न विमान कम्पनीहरू पनि सम्पर्कमा आएको बुझिएको छ ।
प्राधिकरण अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ देखि विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ ।
विमानस्थलमा वैशाख ७ देखि आन्तरिकतर्फ नियमित उडान हुनेछ । त्यसो त सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने÷नगर्ने कुनै निणर्य गरिसकेको छैन ।

लोकप्रिय