काठमाडौं महानगरपालिकाले १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गर्यो

काठमाडौं महानगरपालिकाले १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गर्यो

काठमाडौं महानगरपालिकाले १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गरेको बताएको छ।आज शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफू २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भई आएपछि हालसम्म १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको बताएका छन्।

उनले काष्ठमण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठमन्दिर, चैत्य, विहार, गुठिघर, द्यःछें लगायतका १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण भएको जानकारी दिएका हुन् ।

उनले उपत्यका भित्रका अन्य नगरपालिका क्षेत्रभित्रका सम्पदाहरुको पुनर्निर्माणमा पनि महानगरपालिकाले सहयोग गर्दै आएको बताएका छन्। प्रमुख शाक्यले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत उपत्यका बाहिरका ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा समेत सहकार्य र साझेदारी गर्दै आएको बताए।

उपत्यका बाहिर लुम्बिनीको बज्रयान महाविहार, रामग्रामको पण्डितपुर क्षेत्रको विकास, जुम्लाको चन्दननाथ मन्दिर क्षेत्रको संरक्षण तथा विकास लगायतका कामहरु भएको उनले उल्लेख गरे।

प्रमुख शाक्यले महानगरपालिका भित्रको कला, संस्कृति, सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि हरेक वर्ष १०० करोड रुपैयाँ भन्दा बढी बजेट छुट्याउने गरिएको बताएका हुन्।

लोकप्रिय