लेटाङमा कर्फ्यू जारी, कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई नियन्त्रणमा

लेटाङमा कर्फ्यू जारी, कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई नियन्त्रणमा

आइतवार साँझ एक प्रहरीको ज्यान जाने गरी भएको मोरङको लेटाङ घटनामा संलग्न भएको आशंकामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार सोमवार कर्फ्यू उल्लङ्घन गर्ने १२ जनालाई नियन्त्रणमा लिइएको छ ।

हिजो सोमवार बिहान ७ बजेदेखि लेटाङका ४ वटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू जारी गरेको थियो । अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकलाई कालोमोसो दलेर गाउँ घुमाउने माग राख्दै स्थानीय तथा विद्यार्थीहरूले आन्दोलन गरेका थिए । गाउँमै घटना मिलाउनका लागि प्रयास गरिएपछि भिड बढ्दै जाँदा आन्दोलनले उग्र रूप लिएको थियो ।

जनप्रतिनिधिहरू सहित बसेर घटना मिलाउन खोज्दा महिला प्रहरीको ज्यान गएको पूर्व वडा अध्यक्ष समेत रहेका वीर बहादुर तामाङ बताउँछन् ।

भिड अनियन्त्रित हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । आरोपित शिक्षकलाई पक्राउ गरेर प्रहरीले लगेपछि घटना स्थलमा रहेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए । आक्रमणमा २९ प्रहरी र ७ आन्दोलनकारी घाइते भएका थिए ।

प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी तथा सशस्त्र प्रहरीका अधिकारीको टोलीले हिजो सोमवार घटना स्थलको स्थलगत जानकारी लिएको छ ।

 

लोकप्रिय