पार्टीलाई पहिलो शक्ति बनाउने एमालेको लक्ष्य
काठमाडौ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो ।
बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिएका छन् । त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएका थिए ।
बैठकमा सातै प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए, जसलाई बैठकले ग्रहण गरेको छ भने अध्यक्ष ओलीको प्रतिवेदन पनि पारित भएको छ । अध्यक्षको प्रतिवेदनमा सदस्यहरुले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।
साथै बैठकले विभागहरुको पूर्णता दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ । एमालेको विधानअनुसार प्रत्येक विभागमा ३५ जना सदस्य रहने व्यवस्था छ । ति मध्ये धरै विभागले पूर्णता पाउन बाँकी छ ।
बैठकले स्थानीय तह निर्वाचन उम्मेदवारको मापदण्डबारे निर्णय गरेको छ । जसमा वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, गाउँपालिकाको सिफारिससहित जिल्ला कमिटीको निर्णय गर्नेछ । यसैगरी गाउँ÷ नगरका प्रमुख उपप्रमुखको गाउँ र नगर तथा जिल्लाको सिफारिसमा प्रदेशले निर्णय गर्नेछ ।
महानगर र उपमहानगरको उम्मेदवारको हकमा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले निर्णय गर्ने भएको छ । एमालेले उम्मेदवार बन्न ६ वटा मापदण्ड पारित गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता,निर्वाचित जनप्रतिनिधिको मुल्यांकन,लोकप्रियता र विजयको सुनिश्चितता,योगदान र पार्टीप्रतिको निष्ठा तथा कार्यक्षमता, सुशासनप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशीतालाई आधार बनाएको छ ।


प्रतिकृया दिनुहोस्