भक्तपुरबासीलाई सुख र समृद्धि प्रदान गर्ने नयाँ भिजन हामीसँग छ

भक्तपुरबासीलाई सुख र समृद्धि प्रदान गर्ने नयाँ भिजन हामीसँग छ

 

भेष बहादुर कार्की नेपाली कांग्रेसका एक असल, दुरदर्शी र कुशल राजनीतिज्ञ हुन् । आफ्नो जीवनकालको लामो समय नेपाली कांग्रेसका लागि निडर सिपाही भई लडिरहे । जेल र नेल खेप्दै प्रजातन्त्र र लोकतन्त्रको लागि पटक पटक कठिन जेल जीवन समेत विताए । उनै कार्की यतिबेला नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापतिका जिम्मेवारीमा रहेका छन् । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ । उनीसामू आफूँले नेतृत्व गरेको क्षेत्र भित्र पर्ने सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा कांग्रेसलाई विजयी बनाउनुपर्ने चुनौती छ । भक्तपुर नेपाली कांग्रेसको गढ भएपनि विगतको चुनावमा केही प्राविधिक गडबडिका कारण दुवै नगरपालिकामा एमालेले नेतृत्व गरेको भन्दै आगामी निर्वाचनमा दुवै नगरपालिकामा कांग्रेसले जित हाँसिल गर्ने गरी तयारी गरेको कुराकानीको क्रममा सभापति कार्की बताउँछन् । उनै कार्कीसँग आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले के कसरी काम गरिरहेको छ ? चुनावमा जित हाँसिल गर्ने एजेण्डाहरु के के छन् ? लगायतका विषयमा केन्द्रित रहेर दैनिक समाजका लागि सभापति कार्कीसँग गरिएको कुराकानी :

स्थानीय तहको निर्वाचन नजिकिँदै छ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले निर्वाचन लक्षित के कस्ता कार्यक्रमहरु गरिरहेको छ ?
नेपाली कांग्रेसले दिएको जिम्मेवारी पालना गरिरहेका छौँ । ‘घर घर जाऔं–कांग्रेस जिताऔं’ भन्ने घर दैलो कार्यक्रम सफल पार्न नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ ले मध्यपुर थिमी नगरपालिका र सूर्य विनायक नगरपालिकाका १९ वटै वडामा विधानको व्यवस्था अनुसार टोल समिति गठन गरी सञ्चालनमा लागेका छौँ । साथै कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न प्रशिक्षणका कार्यक्रमहरु चलाई रहेका छौँ । नेपाली कांग्रेसका विरुद्धमा लगाइएका विनावित्थाएका भ्रमहरु चिर्न पनि हामीहरु क्रियाशिल भएका छौँ ।

तपाईको क्षेत्रमा कांग्रेसको अवस्था कस्तो छ ?
एकदमै चुस्त दुरुस्त छ । जनमत कांग्रेसको पक्षमा पाइएको छ । अघिल्लो निर्वाचनमा हाम्रा केही कमजोरी र कथित वामपन्थीको झुठको खेतीको कारण हामी केही तल परेका थियौं । समग्र नेपाली कांगेसको विषयमा भ्रम भएपनि यथार्थमा हाम्रो भक्तपुरको क्षेत्र नं. २ नेपाली कांग्रेसको क्षेत्र हो भन्दा अनर्थ नहोला । यसपाला हामी हाम्रो हक फिर्ता ल्याउँछौँ । यस क्षेत्रका मतदाता पनि कांग्रेसको पक्षमा खुलेर निस्किएका छन् ।

कांग्रेसको पक्षमा जनलहर ल्याउन के–के गर्दै हुनुहुन्छ ?
सुर्यविनायक नगरपालिकाले सरकारी पर्ती जग्गा, हाउजिङ्ग कम्पनीलाई विना अधिकार हस्तान्तण गरेको छ । नगरपालिकाको १० लाखभन्दा बढीका निर्माण कार्य प्रतिस्पर्धा गराउने, टेण्डर प्रक्रियामा जाने निर्णय उल्लंघन गरेर करोडौं करोडका काम उपभोक्ता मार्फत गरेर खुले आम भ्रष्टाचार गरेको छ । जनताका पिउने पानीको श्रोत सुकाउन कथित धनीमानी व्यवसायीहरुको लागि सरकारी पैसामा डिप बोरिङ्ग गरेर जनतालाई काकाकूल बनाएका छन् । व्यापारीहरुको फाइदाका लागि राज्यकोषको ढुकुटीबाट रकम खर्चिएर हाइवेमा झोलुँगे पुल बनाएका छन् । हनुमन्ते करिडोरलाई दुहुनो गाई बनाइएको छ । ९ महिना देखि मध्यपुर नगरपालिकाको बैठक समेत नराखि करोडौं रुपैँया ब्रम्हलुट गरेको छ । आफ्नो मान्छेलाई फाइदा पु¥याउन मापदण्ड पनि थिचोमिचो गरेका छन् । व्यापारीहरुसँगको लेनदेनमा सरकारी बाटो पनि मिच्न दिएको जस्ता बेथितिहरु लिएर जनताको घरघरमा पुगिरहेका छौँ । नेपाली कांग्रेसका प्रतिनिधि नेतृत्वमा पुगे जनतामाथि भएका घात प्रतिघातहरुको अन्त्य गछौँं भन्ने सन्देश प्रवाह गरिरहेका छौँं । झुठको पुलिन्दा होइन ‘समृद्ध नगरः सुखी नगरबासी’भन्ने मूलमन्त्रका साथ नेपाली कांग्रेसले काम गर्छ भन्ने सन्देश दिँदै आइरहेका छौँ । नेपाली कांग्रेस जनताको असली सेवक भएको सन्देश दिइरहेका छौँ ।

एउटा आधारभूत विद्यालयको प्रधानाध्यापक जसले आफ्नो तलबको पैसाबाट बच्चाहरुलाई खाना र नाना व्यवस्था गर्छ । सून्य विद्यार्थी भएको विद्यालयमा दर्जनौं बच्चाहरु भर्ना गराउँछन्, पढाउँछन् । विद्यार्थी र अभिभावक प्रधानाध्यापकसँग खुसी हुन्छन् तर नगरपालिकाका वडाअध्यक्ष र मेयरलाई चित्त बुझ्दैन, ती शिक्षकको सरुवा गरिन्छ । नगर प्रहरी लगाएर शिक्षक घोक्र्याइन्छ ।

तपाईको क्षेत्र भित्र पर्ने सूर्यविनायक नगरपालिकामा व्याप्त भ्रष्टाचार छ भन्नुभयो । तर तपाईहरुले खबरदारी किन गर्नुहुन्न ?
सूर्य विनायक नगरपालिकामा जति भ्रष्टाचारको कुरा गरेपनि थोरै हुन्छ । एक ठाउँमा काम गर्ने निर्णय हुन्छ तर कमिसनको लोभमा अन्यन्त्रै काम गर्ने गरेका प्रशस्त उदाहरणहरु छन् । हेर्नुहोस्, एउटा आधारभूत विद्यालयको प्रधानाध्यापक जसले आफ्नो तलबको पैसाबाट बच्चाहरुलाई खाना र नाना व्यवस्था गर्छ । सून्य विद्यार्थी भएको विद्यालयमा दर्जनौं बच्चाहरु भर्ना गराउँछन्, पढाउँछन् । विद्यार्थी र अभिभावक प्रधानाध्यापकसँग खुसी हुन्छन् तर नगरपालिकाका वडाअध्यक्ष र मेयरलाई चित्त बुझ्दैन, ती शिक्षकको सरुवा गरिन्छ । नगर प्रहरी लगाएर शिक्षक घोक्र्याइन्छ । ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भने झैँ भएको छ यहाँ । किन शिक्षक सरुवा गरेको थाहा छ ? किन भने त्यहाँ भ्युटावर बनेको छ, प्रदेश सरकारले पैसा हालेर त्यो भ्युटावर कुनै व्यापारीलाई भाडामा टावर दिइएको छ । त्यसका लागि विद्यालय हटाउनुपर्ने हुन्छ । जब कि भ्युटावर विद्यालयकै भोगाधिकारको क्षेत्रको जग्गामा बनाइएको छ ।
भाडामा भ्युटावर दिएर मेयरले मोटो कमिसन असुल्न प्रधानाध्यापकको सरुवा गराए । छाडेर नगएको भन्दै नगर प्रहरी लगाएर उनलाई घोक्र्याउने दुस्साहस सूनपामा भयो । प्र.अ.को हाँजिरकपी पनि लुटेर लगियो सूर्य विनायक नगरपालिका ७ का वडा अध्यक्षले । जबकि उक्त विद्यालय सुनपा–४ मा पर्छ । यो व्यथा अनन्त लिङ्गेश्वर आधारभूत विद्यालय सुनपा ४ को हो । जसका मेहनति प्रधानाध्यापक हुन डिल्ली थपलिया । त्यस्तै सूर्यविनायक नगरपालिका ७ र ४ को बीचबाट बग्ने महादेव खोलाको पुल निर्माण त कुरै बेग्लै छ । उपभोक्ता समिति एमाले नेता श्याम कुमार खड्काको अध्यक्षतामा बनाइयो । २५ लाख निकासा पनि भयो । काम पनि सुरु भयो । तर भुक्तानी रोकियो । खाता रोकियो । कारण प्रष्टै छ, सुर्यविनायक ७ का वडा अध्यक्ष र मेयरले उपभोक्ता समिति खड्काको अध्यक्षतामा भएर पनि अरुलाई ठेक्का दिएर काम गराउने र मोटो कमिसन खाएका रहेछन् । जसले गर्दा पुल बनाउन स्थगन भएको छ, उक्त पुलको रकम डेढ करोड बेसी रहेको छ ।
हेर्नुहोस् मध्यपुर नगरपालिकाको त झन् चर्को भ्रष्टाचार छ । नौ महिनाबाट नगरपालिकाको बैठक बसेको छैन, तर मेयर साहेब पैसा उरल–धुरल खर्च गरिरहेका छन्् । जनताले तिरेको तिरो व्यापक घोटला भएको छ । नगरपालिकाबाट सञ्चालित कोरियन हस्पिटलमा विमा रकम समेत बन्द गराउने कार्य गरे । हेर्नुहोस्, अरबपति व्यापारीहरुको फाइदाको लागि जनताको नक्साको बाटो मात्र बन्देज गराइएन । होटलको फाइदाको लागि सुर्यविनायक नगरपालिकाले राज्यकोषको पैसा हालेर डिप बोरिङ्ग गरि जनताको पानी मुहान सुकाउने व्यापारीहरु लागि लुटाउने समेत गरेको छ । यी कुराहरु हामी जनतालाई बुझाउँछौँ । भक्तपुरबासीहरुले बुझिसकेका पनि छन् । उनीहरु जनकारबाहीमा पर्ने निश्चित छ । यो नै सबैभन्दा ठुलो खबरदारी हो ।

भक्तपुरमा त एमालेले विकासको बहार ल्याएका छन् भन्छन् नि ?
हो, भक्तपुरमा विकास भएको छ । यो विकासमा एमालेको योगदान छ भन्ने तर्क हाँस्यास्पद हो । एमालेले विकासका नाममा गरेका कर्तुतहरु भक्तपुरबासीले बुझिसकेका छन् । मैले यस विषयमा कुनै टिका टिप्पणी गर्न चाहिँन ।

नेपाली कांग्रेस आम जनताको सर्वाङ्गिण विकासको पक्षमा छ । आम जनताको जनजिविकाससँग जोडिएको विकासको पक्षमा छ । अर्थात नेपाली कांग्रेसले गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रको ग्यारेन्टी गर्दै जनताको सुख र समृद्धिका लागि नयाँ भिजनका साथ काम गर्नेछ ।

त्यसो भए भक्तपुरमा भएको विकास कांग्रेसले गरेको हो त ?
भक्तपुरको विकासमा नेपाली कांग्रेसको विकल्प छैन । अहिले भक्तपुरमा सडक विस्तारका कामहरु भईरहेका छन् । यी सबै देखावटी विकास हुन् । कमिसनको लोभमा भएका विकास हुन् । नेपाली कांग्रेस आम जनताको सर्वाङ्गिण विकासको पक्षमा छ । आम जनताको जनजिविकाससँग जोडिएको विकासको पक्षमा छ । अर्थात नेपाली कांग्रेसले गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रको ग्यारेन्टी गर्दै जनताको सुख र समृद्धिका लागि नयाँ भिजनका साथ काम गर्नेछ । त्यो नयाँ भिजन हामीसँग छ ।

आउँदो स्थानीय निर्वाचनमा सुर्यविनायक नगरपालिकामा मेयरको उम्मेदवार तपाई हुने भन्ने चर्चा चलेको छ नि, कांग्रेस बृत्तमा ?
त्यो कुरा छाड्नुहोस् । बेला भएको छैन । हाम्रो काम नेपाली कांग्रेसलाई विजयी बनाउने हो । व्यक्ति गौण हो । आफ्नो व्यक्तिगत महत्वकांक्षा भन्दा सामूहिक हित र समस्त कांग्रेसको विजय पहिलो र एक मात्र लक्ष्य मेरो रहेको छ ।

केही समय भित्रै नेपालमा उत्पादन हुन गईरहेको दशौं हजार मेगावाट विद्युत विदेशमा बेच्न सकिन्छ । एमसीसीबाट प्राप्त अनुदानले सडक र विद्युतको ट्रान्स मिसनलाइन बनाउने हो । ट्रान्स मिसन लाइन बनाउन विदेशीसँँग ऋण लिएको होइन, देशको उत्पादित विद्युत बेच्नु अपराध हो ? एमसीसीको विरोध कथित कम्युनिष्टहरुले गरेका हुन् ।

एमसीसी पास हुनु भनेको राष्ट्रघात हो भन्छन् नि ?
यो गलत हो । एमसीसी पारित गर्नु नेपालीको हितमा छ । हेर्नुहोस्, केही समय भित्रै नेपालमा उत्पादन हुन गईरहेको दशौं हजार मेगावाट विद्युत विदेशमा बेच्न सकिन्छ । एमसीसीबाट प्राप्त अनुदानले सडक र विद्युतको ट्रान्स मिसनलाइन बनाउने हो । ट्रान्स मिसन लाइन बनाउन विदेशीसँँग ऋण लिएको होइन, देशको उत्पादित विद्युत बेच्नु अपराध हो ? एमसीसीको विरोध कथित कम्युनिष्टहरुले गरेका हुन् । तर उनीहरु सत्तामा हुँदा सबैले एमसीसी माग गरेका थिए । झलनाथ हुन् वा भीम रावल । तै पनि आफूले सम्झौता गर्न नपाएको झोँक र कांग्रेसले देश समृद्ध बनाउने अभियान चालेका कारण र चीनलाई खुसी पार्न विरोध गरि टोपलिएका मात्र हुन् । अमेरिकी निव्र्याजी तिर्नु नपर्ने साँवा प्रयोग गर्दा नहुने, अनि चर्को व्याजमा चाइनाबाट लिन हुने ? एउटा घटना छ, चर्को व्याजमा चाइनासँग ऋण लिएर श्रीलंकाले झैँ नेपालका भूभाग चाइनालाई सुम्पन चाहनेहरु एमसीसीको विरुद्धमा उत्रिएका हुन् । जब सत्य बुझछ्न, तिनीहरु नेपाली कांग्रेसको झण्डा बोक्न आउँछन्, हेर्दै जानुहोस् ।
धेरैले एमसीसीको विषयमा बुझिसके । यो राष्ट्रघात होइन, राष्ट्र हितमा छ भनेर । त्यसैले विरोधीका स्वर पनि मत्थर भएको अनुभव गर्नु भएको होला । एमसीसीले नेपाली कांग्रेसलाई आउँदो निर्वाचनमा घाटा पु¥याउँदै, फाइदा पुग्छ । कांग्रेसले पहिले देखि एमसीसीको पक्षमा जसरी प्रस्तुत भयो छोडेन पारित गराएरै छाड्यो । कम्युनिष्टहरुले जस्तो सत्तामा रहँदा एमसीसीको पक्षमा बाहिर गएर विपक्षमा गरेन नि !

 

लोकप्रिय