सुस्मिता क्षेत्री हत्या प्रकरण : न्याय नपाउने डर

सुस्मिता क्षेत्री हत्या प्रकरण : न्याय नपाउने डर

काठमाडौ । २ वर्ष अगाडी आफ्नै घरको भान्सा कोठामा मृत्त अवस्थामा भेटिएकी हेटौडा उपमहानगरपालिका–४ सुर्यचोककी २६ वर्षीया सुस्मिता क्षेत्री थापाको माइती पक्षले न्याय दिने अन्तिम समयमा अदालतले आफुहरुलाई बेवास्ता गरेको गुनासो पोखेको छ ।
सुस्मिताको माइती पक्षले हालै राजधानीमा एक पत्रकार सम्मेलन गरी न्याय पाउने अन्तिम चरणमा हेटौडा जिल्ला अदालतले आफुहरुलाई बेवास्ता गरेको गुनासो सुनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मृत्तक सुस्मिताको ठुलो बुवा हेम बहादुर खड्काले गत फागुन २५ गते अदालतमा पेशीको दिन न्यायालयले गरेको व्यवहारले आफुहरु सशंकित भएको बताए । खड्काले भने–‘गत फागुन २५ गते पेशीको अन्तिम दिन थियो, तर हामीलाई केही नभनिकन न्यायाधीश बेञ्चबाट बाहिरिनु भयो, हामी त हेरेको हेरैं भयौं । एक महिला कर्मचारीले २ घण्टापछि पो तपाईहरुको पेशी स्थगित भयो भन्नु भयो । अब हामी न्यायको अन्तिम चरणमा छौ ।’
यही चैत्र १४ गते फेरी अर्को पेशी तोकिएको उनले उल्लेख गरे । उनले २ वर्ष बितिसक्दा पनि न्याय प्रक्रियाबारे आजसम्म केही प्रतिक्रिया र गुनासो नगरेको भन्दै आज भने बाध्य भएर छोरीको न्यायको लागि मुख खोल्न परेको सुनाए ।
उनले जसरी पनि न्याय आफुहरुले पाउने जिकिर गरे । पीडित पक्षले न्याय नपाउने अवस्था रहेमा ३ करोड जनताहरुलाई आफुहरुलाई साथ दिन पनि आग्रह गरे । जवान छोरीको हत्या काण्डको कानुनी प्रक्रियामा भइरहेको ढिलाईबारे गुनासो पोख्न कपिलवस्तुबाट ३ दिन अघि काठमाडौं आएको सुनाउँदै खड्काले आफुहरुलाई तलमाथि केही भएमा त्यसमा अन्यथा हुने पनि चेतावनी दिए । सुस्मितालाई लोहोरो प्रयोग गरेर थिचिथिचि र तड्पाईतड्पाई मारेको स्मरण गराउँदै पीडित पक्षलाई न्याय दिन सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।
मृत्तक सुस्मिताको बुवा कृष्णबहादुर क्षेत्रीले आफुले माया गरेर हुर्काएर बढाएकी एकमात्र छोरी गुमाएको २ वर्ष बितिसकेको तर न्याय पाउन ढिलाई भएको गुनासो पोखे । क्षेत्रीले आफ्नो छोरीलाई केटाको परिवार मिलेर भान्छा कोठामा थिचिथिचि मारेका हुन भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि अहिलेसम्म न्याय पाउन नसकेकोमा दुःख व्यक्त गरे ।
निर्मम हत्या काण्डमा न्याय दिन किन ढिलाई भइरहेको छ ? त्यसको बारेमा दुनियाँले सोध्ने गरेको भन्दै उनले भने,‘धेरै नै भएर सेलाएको हो की, कसैले नसुनेको हो की, नबुझेको हो की भनेर झकझकाउन काठमाडौं आएका हौ ।’
उनले गत फागुन २५ गतेको पेशीमा हेटौँडा अदालतले आफुहरुलाई बेवास्ता गरेको दुःखेसो पोखे । २ घण्टा बस्दा पनि कसैले पेशी हटेको पनि जानकारी नदिएको उनले बताए । उनले भने,‘पेशीको दिन फैसला सुनाउनुहुन्छ होला भनेर २ घण्टा पर्खाइमा बस्यौं । कोही पनि आउनुभएन, सबै आ–आफ्नो ठाउँबाट उठेर जानुभयो । र एकजना कर्मचारी दिदी आएर हजुरहरुको पेशी आज हटेको छ भन्नुभो ।’
उनले कपिलवस्तुदेखि हेटौडाको लामो यात्रा गरेर छोरीको न्यायका लागि आएका पीडितहरुलाई अदालतले गरेको व्यवहारले कतै न्याय नपाउने त होइन भन्ने डर लागेको पनि सुनाए ।

लोकप्रिय