सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति
काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।
साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारमाथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाएको छ । बैठकको निर्णयमा भनिएको छ–‘निर्वाचनलाई प्रभावित पार्ने विभिन्न निर्णयहरु गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ ।’
बैठकले चुनाव चिन्हको रंग र मनोनयन दर्ताका लागि मनोनयन पत्र दर्ता गर्न दुई दिन दिने निर्णय परिर्वतन गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ ।
वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरुसँग परामर्श नगरी मतपत्रमा उल्लेख गरिने निर्वाचन चिन्हको रंग परिर्वतन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गर्नु अनुचित भएको एमालेले बताएको छ ।
एमाले उपमहासचिव एवं प्रभार विपभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने–‘यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकुल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ । तसर्थ निर्वाचन आयोगको यो निर्णय अनुचित छ, त्यसैले यसलाई तत्काल सच्चाउन माग गर्दछ ।’

प्रतिकृया दिनुहोस्