अध्यक्ष ओलीले गरे दुर्गा प्रसाईको तरकारी बजार उद्धाघटन
भक्तपुर । झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा सञ्चालनमा ल्याएको तरकारी पसल आज अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। बजारको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। सूर्यविनायक नगरपालिका(८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्। उद्घाटनपछि ओलीले प्रसाईंले जुन सोच अगाडि सारेर तरकारी बजार खोले उनी धन्यवादको पात्र रहेको बताए।
‘म यस तरकारी बजारको सफलताको निम्ति शुभकामना भन्न चाहन्छु,’ ओलीले भने, ‘यो बजारले यहाँका किसानको जीवन उठाउन र कृषिको आधुनिकीकरण, अर्ग्यानिक खेतीका लागि प्रोत्साहित गर्नेछ।’
उनले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, कृषिको शुद्धीकरण सुरू भएको बताएका छन् । ‘विषादीयुक्त तरकारी भान्सामा नपुगोस् यसतर्फ पनि ध्यान दिन जरूरी छ। यस सफलताको निम्ति खुसी व्यक्त गर्न मन लागेको छ,’ ओलीले भने, ‘नेपालमा सबैभन्दा ठूलो कृषि थोक बजार यही होला। प्रसाईंजीलाई बधाई भन्न चाहन्छु। यस्ता विभिन्न प्रकारका काम उहाँले थुप्रै गर्नुभएको छ।’
प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएका छन्। तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र दुई हजार दुई सय स्टल राखिएको प्रसाईंले बताएका छन् ।
तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्। तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताएका हुन् ।तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।
‘कृषि कार्यका लागि हामीले कतै पनि अनुदान लिएका छैनौं, आफ्नै लगानीमा मात्रै आधारित भएर तरकारी बजार सञ्चालनमा ल्याइएको हो,’ प्रसाईंले भने, ‘यहाँ देशभरिबाट तरकारी आउँछ, कृषकको हितलाई ध्यानमा राखेर बजार स्थापना गरेको हुँ।’
छ महिनाअघि माओवादी केन्द्र छोडेर नेकपा एमालेमा आएका उनलाई ओलीले केन्द्रीय समितिमा मनोनित गरेका थिए। उनी एमालेको उद्योग विभागका उपप्रमुख छन्।कार्यक्रम उद्घाटनमा मन्तव्य राख्दै प्रसाईंले स्थानीय उत्पादनलाई प्रोत्साहित र बजारीकरण गर्न आफूले कृषि बजार स्थापना गरेको बताए।
कृषिजन्य उत्पादनमा बिचौलियाहरूले राज गरिरहेको भन्दै प्रसाईंले यो बजारबाट बिचौलियाको अन्त्य हुने दाबी गरेका छन् । ।
प्रसाईंको तरकारी बजार उद्घाटन गर्ने कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, भक्तपुरका सांसद महेश बस्नेतलगायत नेताहरू रहेका थिए।


प्रतिकृया दिनुहोस्