व्यावसायीहरुको दादागिरी : स्वार्थ पूर्तिका लागि उपभोक्ता अधिकारमाथि ‘लात’

व्यावसायीहरुको दादागिरी : स्वार्थ पूर्तिका लागि उपभोक्ता अधिकारमाथि ‘लात’

 

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएपछि नेपालमा समेत पेट्रोल, डिजेल, मट्टितेल लगायतका ग्याँसको मूल्यमा भारी बृद्धि भएको छ ।
पछिल्लो समय पेट्रोलको मूल्य प्रतिलिटर रु. १५५, डिजेलको मूल्य रु. १३८, मट्टितेलको १३८, एलपी ग्याँस प्रतिसिलिण्डर रु. १५७५ कायम रहेको छ । यो मूल्यमा विक्रि वितरण गर्दा पनि आयल निगमले पेट्रोलमा प्रतिलिटर २८ रुपैँया, डिजेलमा ३२, मट्टितेलमा २४ र एलपी ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैँया नोक्सान व्यहोरिरहेको छ ।
यसर्थ नेपाल आयल निगम टाट पल्टिने अवस्थामा पुगेको छ । आयल निगम अरबौं रुपैँया घाटामा गएको छ । यस्तो कठिन समयमा पेट्रोलियम पदार्थ ढुवानीकर्ता, विक्रि वितरक तथा ग्याँस व्यवसायीले भने आयल निगमलाई थप असहयोग गरिरहेको देखिन्छ ।
निगमले आफ्नो घाटा कम गर्न पेट्रोलिमय पदार्थको मूल्य बढाएकाले तत्कालका लागि व्यवसायीहरुको कमिसन नबढाउने निर्णय गरेपछि व्यवसायीहरु आन्दोलनमै उत्रिएका छन् । उनीहरुले बढेको मूल्य अनुसार विक्रेता कमिसन उपलब्ध गराउन माग राख्दै पेट्रोलियम पदार्थको लोड अनलोड र विक्रि वितरण ठप्प पारेका छन् ।
आयल निगम स्रोतका अनुसार पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुलाई इन्धन ढुवानी गर्दा आवश्यक पर्ने इन्धन, ड्राइभर खर्च, सहचालक खर्च, बैंकको व्याज, ह्रासकट्टी लगायतका शिर्षकमा निगमबाट भुक्तानी दिने व्यवस्था छ । सो रकम व्यवसायीहरुले तेलको मूल्यको आधारमा पाउने गर्दछ । तर, पछिल्लो समय आयल निगमले चरम घाटा व्यहोरिरहेको अवस्थामा इन्धनमा बाहेक अन्य शिर्षकमा रकम समायोजन नगर्ने निर्णय गरेसँगै ढुवानी व्यवसायीहरु आन्दोलिन बन्न पुगेका हुन् ।
त्यसैगरी पेट्राल पम्पहरुले हाल पेट्रोलमा प्रतिलिटर रु. ५ र डिजेलमा रु. ४ रुपैँया कमिसन लिईरहेका छन् । निगम स्रोतका अनुसार यतिबेला आयल निगमले पेट्रोल पम्पहरुलाई यथावत् कमिसनमा तेल विक्रि वितरण गर्न आग्रह गरेको थियो । तर, पम्प व्यवसायीहरुले निगमको आग्रहलाई अस्वीकार गर्दै विरोधमा उत्रिएका छन् ।
पछिल्लो समय व्यवसायीहरुले निगमविरुद्ध आन्दोलन गरिरहेका छन् । विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेका छन् । तर निगमले व्यवसायीहरु माग सम्बोधन गर्न केही ढिला हुने जनाएको छ ।
आयल निगमको कार्यकारी निर्देशकमा इ. उमेश प्रसाद थानी केही दिन अघिमात्र नियुक्त भएका छन् । व्यावसायीहरुले थानीलाई आफ्नो कमिसन बढाउन लगातार पेलान गरिरहेका छन् भने थानीले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएकोले आगामी जेठमा मागबारे सम्बोधन गर्ने आश्वासन समेत दिईसकेका छन् । तर, व्यावसायीहरु एकाएक निगमलाई गलाउने उदेश्यले ढुवानी ठप्प पार्दै विक्रि वितरण रोकेर बजारमा तेलको अभाव सिर्जना गराएको छ ।
आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब एक हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको दैनिक आपूर्ति नै प्रभावित भएको छ । शुक्रबारदेखि बजारमा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको छ भने आम उपभोक्ताहरु मारमा परेका छन् । व्यवसायीहरुको यो हर्कतप्रति जनसमुदायमा आक्रोश बढेको छ । कठित व्यावसायीहरुको भर पर्दा पटक पटक जनताले सास्ती व्यहोर्नु परेको भन्दै उपभोक्तावादी नेताहरुले सरकारले व्यावसायीहरुको विकल्प खोज्न समेत माग गरेका छन् ।
व्यवसायीहरुलाई काबारही गर्न माग
पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी, पम्प व्यवसायी र ग्याँस उद्योगीहरुले संयुक्त रुपमा नाजायज माग पूरा गराउन उपभोक्ताहरुलाई सास्ती दिएको भन्दै उपभोक्तावादी संघ संस्थाहरुले कारबाहीको माग गरेको छ ।
यसबीच राष्ट्रिय उपभोक्ता मञ्चले निहित स्वार्थ पूर्तिका लागि व्यावसायीहरु आन्दोलनको बाटोमा लाग्दा त्यसको प्रत्यक्ष वा परोक्ष असर आम नागरिकमा परेको भन्दै व्यावसायीहरुलाई कारबाही गर्न माग गरेको छ ।
उपभोक्ताको दैनिक आवश्यक बस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन, ढुवानी तथा विक्रि वितरणमा नेपाल आयल निगमका ढुवानीकर्ता, विक्रेता तथा ग्याँस उद्योगीले तिनीहरुको आफ्नो माग सम्बोधन गर्नका लागि चरणवद्ध आन्दोलन गरेकोमा ध्यानाकर्षण भएको समेत मञ्चले प्रधानमन्त्रीलाई पत्र पठाउँदै उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ–‘जनता एकातिर बढ्दो महंगीको मारमा छन् भने आन्दोलनको कारण अभाव समेत पर्न थालेका छन् ।’

लोकप्रिय