मैले पूरा नहुने कुनै सपना देखेको थिइँन
शम्भुकुमार केसी, वडा अध्यक्ष
चन्द्रागिरी नगरपालिका वडा नं. ७
पाँच वर्षे कार्यकाल कसरी बिताउनुभयो ?
मेरो पाँच वर्षे कार्यकाल विकास–निर्माण र जनचासोका मुद्दामै बित्यो । निःस्वार्थ रुपमा जनताको सेवा गरेँ भन्ने मलाई लाग्छ । त्यसले मलाई आनन्दित तुल्याएको छ । मैले वडा अध्यक्ष भएरमात्र होइन, ४० वर्षदेखि जनताको सेवा गर्दै आएको थिएँ । वडा अध्यक्ष भएर झन् प्रत्यक्ष रुपमा जनतामाझ पुग्ने मौका पाएँ । मलाई खुशी लागेको छ ।
जनप्रतिनिधिले पनि पार्टीगत रुपमा काम गरेका छन् भन्ने सुनिन्छ नि ?
मैले जनतालाई सेवा दिँदा यो पार्टी र त्यो पार्टी भनिनँ । साधन–स्रोतले भ्याएसम्म सबै जनताको निःस्वार्थ रुपमा सेवा गरेँ । हाम्रो वडामा कांग्रेसमात्र होइन, अन्य दल पनि छन्, उहाँहरुलाई समेत चित्त बुझाएर मैले वडाको नेतृत्व गरेँ । मलाई जनताको सेवा गर्न सहयोग गर्नेलाई धन्यवाद दिन चाहन्छु ।
सिंहदरबारको अधिकार गाउँमा भन्ने नारा लगाइएको थियो, कस्तो अनुभव गर्नुभयो ?
वास्तवमा भन्नुपर्दा सिंहदरबारको अधिकार गाउँका जनतामा आएको छैन । केन्द्रमा जस्तो काम स्थानीयमा छैन । प्रत्यक्ष रुपमा जताततै भेट्ने ठाउँ गाउँ–नगर नै हो, जनताले सबैभन्दा बढी भेट्ने–चिन्ने जनप्रतिनिधि नै हो । त्यसकारण यदि देशलाई बलियो बनाउने, जनताको काम प्रत्यक्ष रुपमा गर्ने हो भने पहिलो स्थानीय निकायलाई बलियो बनाउनु पर्र्छ । त्यसो त हामीले सिंहदरबारका मुख ताकेर मात्र बसिरहेका छैनौँ । ऐन–कानूनले दिए अनुसार काम गरिरहेका छौँ ।
प्रत्यक्ष रुपमा जताततै भेट्ने ठाउँ गाउँ–नगर नै हो, जनताले सबैभन्दा बढी भेट्ने–चिन्ने जनप्रतिनिधि नै हो । त्यसकारण यदि देशलाई बलियो बनाउने, जनताको काम प्रत्यक्ष रुपमा गर्ने हो भने पहिलो स्थानीय निकायलाई बलियो बनाउनु पर्र्छ । त्यसो त हामीले सिंहदरबारका मुख ताकेर मात्र बसिरहेका छैनौँ । ऐन–कानूनले दिए अनुसार काम गरिरहेका छौँ ।
पाँच वर्षमा तपाईँका सपना पूरा भए ?
मैले पूरा नहुने कुनै सपना देखेको थिइँन । म कांग्रेसबाट निर्वाचित इमानदार जनप्रतिनिधि हुँ । मैले ४० वर्षदेखि सामाजिक क्षेत्रमा कार्य गरेको अनुभव छ । म वडा अध्यक्ष भएर आएपछि आफ्नो बलबुताले भ्याएसम्म राम्रो काम गरिरहेको छु । गरिरहन चाहन्छु । नराम्रो केही काम गरेको छैन ।
वडा अध्यक्षमा निर्वाचित भएर आएपछि के–के राम्रा काम गर्नुभयो ?
भौतिक पूर्वाधारका काम सडक, स्वास्थ्य, खानेपानीमा विशेष ध्यान दिए । खेलकूद क्षेत्रमा टेवा पु¥याउन खेलकूद कबर्ड हल बनाएँ । नगरकै पहिलो जेष्ठ नागरिक भवन निर्माण भैसकेको छ । पार्क निर्माणको चरणमा छ । मातातीर्थदेखि केबुलकारसम्म साइकल ट्रयाक निर्माण गरिएको छ ।खासगरी पूर्वाधार क्षेत्रमा ९९ प्रतिशत हामीले काम गरेका छौँ । यस हिसाबले हेर्दा म खुशी पनि छु । जनताको मन जित्ने गरी काम गर्न पाएँ, यसैमा गौरव गरिरहेको छु । पूर्वाधारका काम अब गर्न बाँकी खासै केही बाकी राखेका छैनौँ ।
यसका अलावा के गर्ने तपाईँसँग योजना छन् ?
अब युवाहरुलाई रोजगारी सिर्जना गर्ने पहिलो दायित्व सम्झेको छु । उत्पादन बढाउने र बजारीकरण गर्ने सोच छ । स्वदेशमा रोजगारी नपाएरै देशका होनहार युवा विदेशिएका छन् । त्यसैले स्वदेशमै रोजगारीको व्यवस्था भइदिए युवाहरु काम खोजेर विदेशिनु पर्ने छैन । यो वडाका युवालाई अब स्वरोजगार बनाउने योजना मैले बनाएको छु ।
केन्द्रको राजनीति स्थानीय निकायका जनप्रतिनिधि सम्म आइपुग्छ कि पुग्दैन ?
कतिपय अवस्थामा केन्द्रको राजनीति स्थानीय तहसम्म आइपुग्छ । तर हामीले राजनीतिभन्दा जनताको सेवामा बढी ध्यान दिइरहेका छौ । अबको पाँच वर्ष यो वडाको नेतृत्वमा रहे भने गर्न बाँकी यो काम छ है भन्ने गुनासो रहन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।


प्रतिकृया दिनुहोस्