गठबन्धन दलहरूबीच भुसको आगो दन्किँदै

गठबन्धन दलहरूबीच भुसको आगो दन्किँदै

 

काठमाडौं । अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबाहेक अधिकांश सिद्धान्तहीन गठबन्धनको पक्षमा देखिएका छैनन् । उनीहरुले कांग्रेसका बैठक र विभिन्न फोरममा बोल्ने क्रममा चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिएका छन् ।
त्यतिमात्रै हैन, कतिपय नेताले यतिसम्मको तुच्छ टिप्पणी गरेका छन् कि, कांग्रेसी नेताहरु तालमेल गर्नै नहुने अडानमा देखिन्छन् । यसका बाबजुद कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा भने स्थानीय र संघीय चुनावसम्म तालमेल गरेर प्रधानमन्त्री पदको निरन्तरता खोजिरहेका छन् ।
उता संघीय चुनावपछि राष्ट्रपति हुन सकिने लोभले पनि रामचन्द्र पौडेल चाहिं अहिले तालमेलको पक्षमा उभिएको बताइन्छ । त्यसो त, पौडेललाई तनहुँमा गोविन्दराज जोशीले एमालेसँग तालमेल गर्ने सहमति गरेर पौडेललाई थप तनाव दिएका छन् । आउने चुनावमा प्रतिस्पर्धा गर्ने अवस्था आएमा पौडेलले तालमेलविना चुनाव जित्ने स्थिति छैन ।
एकीकृत समाजवादीका किसान श्रेष्ठको बलियो प्रभाव पनि रहेको छ । उपभापति पूर्णबहादुर खड्का आफ्नो क्षेत्रमा कमजोर भएका कारण उनी पनि तालमेलको पक्षमा देखिएका छन् । नत्र अधिकांश कांग्रेस नेताहरु तालमेलको पक्षमा देखिएका छैनन् । जसपाले पनि तालमेलमा खासै चासो दिएका छैन । उनीहरु तालमेल गर्दा आफ्नो शक्ति विकेन्द्रीकृत हुने र पार्टी बलियो नहुने तर्क गरिरहेका छन् ।
त्यसैले, पार्टी बलियो बनाउने हो भने तालमेल नगरी चुनावमा जानुपर्ने मत जसपाभित्र बलियो बनेको छ । तर, एकीकृत समाजवादीमात्रै अहिले तालमेलको पक्षमा रहेको विश्लेषण पनि भइरहेको छ । नयाँ पार्टी भएकोले जति दिन्छन् त्यति लिएर भए पनि गठबन्धन जोगाउनुपर्छ भन्ने मनोविज्ञान एकीकृत समाजवादीमा देखिएको छ ।
प्रचण्ड भने पुरानो शक्ति कायम राख्ने, सके थप बढाउने र सम्पूर्ण शक्ति खर्च गरेर एमालेलाई कमजोर बनाउने रणनीतिमा रहेका कारण गठबन्धनमा जोड दिइरहेका छन् । यसकारणले अहिलेको गठबन्धन दिगो र भरपर्दो हुने संभावना कमजोर बन्दै गएको छ । गठबन्धन कमजोर हुनु भनेको एमालेका लागि भने राहतको विषय हो ।
मधेशमा कांग्रेस र जसपाको मुख्य प्रतिस्पर्धा भइरहेको हुन्छ । माओवादी केन्द्र भने आफूलाई बलियो रहेको दावी गर्छ । यद्यपि, तुलनात्मक रुपमा हिजो केही कमजोर रहेको एमालेलाई आजको आर्जेको शक्तिलाई कम आँकेर सबै दलले आफ्नो वर्चश्व हुने गरी तालमेल गर्न खोजेका छन् । तर, आफ्नो प्रभाव क्षेत्र नछोड््ने अडानमा रहेका कारण सत्तारुढ गठबन्धन दलमा तालमेलमा समस्या आएको छ ।
जनकपुर उपमहानगर, वीरगञ्ज महानगरमा कांग्रेस र जसपाको बलियो प्रभाव छ । त्यहाँ दुवै दलको दाबी छ । त्यसैगरी, सिमरा जीतपुर उपमहानगरपालिकामा कांग्रेस र माओवादीको दावी छ ।
चपुर नगरपालिकामा पनि कांग्रेस र माओवादीको अडान छ । त्यसले गर्दा पालिकाहरु मिलाउन समस्या रहेको बताइन्छ । जसले गर्दा मधेशमा पनि सहजै तालमेल हुने संभावना देखिएको छैन । विराटनगरमा कांग्रेसबाहेकका दलहरु गठबन्धनमा जान खोजिहरेका छन । त्यसो हुँदा एमाले, कांग्रेस र गठबन्धनको उम्मेदवारबीच प्रतिस्पर्धा हुने संभावना रहेको छ ।
एकीकृत समाजवादीको तुलनात्मक रुपमा बलियो क्षेत्रमै पर्छ कर्णाली प्रदेश । नेता प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, सांसद धनबहादुर बुढा, नन्दसिंह बुढा, देवी ओली, पदमबहादुर रोकाय, अम्मरबहादुर थापालगायतका नेताहरुको बलियो प्रभाव आफ्नो जिल्लामा राख्ने गरेका छन् । सल्यान, दैलेख, मुगु, डोल्पा, जुम्ला एकीकृत समाजवादीको प्रभाव राख्ने जिल्ला हुन् । त्यसैले, ती जिल्लामा एकीकृत समाजवादीले आफ्नो प्रभाव हुने गरी नै दावी गरेको छ । त्यसो त, कर्णालीमा माओवादी केन्द्रको पनि बलियो उपस्थिति रहेको छ । उसले आफ्नो प्रभाव क्षेत्रमात्र होइन, आधार इलाकाको रुपमा व्याख्या गर्ने क्षेत्र हो कर्णाली हो ।
जनार्दन शर्माको प्रभावा रहेको यो प्रदेशमा माओवादीले पनि प्रशस्त पालिका माग गरेको छ । त्यसैले अहिले गठबन्धन दलहरु बीचको चुनावी तालमेलका लागि निकै समस्या भएको छ । कांग्रेसका उपसभापति समेत रहको सुर्खेतका नेता पूर्णबहादुर खड्का माओवादी केन्द्रको सहायता विना चुनाव जित्नका लागि समस्या हुने भएकोले उनी गठबन्धनको पक्षमा देखिएका हुन् । तर, कांग्रेसका अन्य नेताहरु हृदयराम थानीहरुको टोली विपक्षमा छ ।
अहिले माओवादीले आफूलाई पहिलो शक्तिका रुपमा व्याख्या गरेर दावी गरिरहेको नेताहरुले बताएका छन् भने एकीकृत समाजवादीले पनि कांग्रेसकै हाराहारीमा दावी गरिहेको छ । ८९ वटा पालिका रहेको कर्णालीमा एमालेले २८ वटा पालिका जितेको थियो । सत्तारुढ दलहरु बीच दह्रो गठबन्धन भएको अवस्थामा करिब २० पालिकाभन्दा बढी जित्न नसकिने बताइरहेका बेला गठबन्धनमा भने तालमेलको चर्को समस्या देखिएको छ ।
सुदूरपश्चिम प्रदेश एकीकृत समाजवादी पहिलो शक्तिका रुपमा देखिएको छ । उसले त्यसै अनुसार भाग खोजिरहेको छ । त्यसले गर्दा पनि सुदूरपश्चिममा तालमेलमा सहमति जुटेको छैन । कांग्रेस नेता बीरबहादुर बलायर र एकीकृत समाजवादीका नेता प्रेम आलेको प्रतिस्पर्धाले पनि सुदूरपश्चिममा समस्या सिर्जना गरेको बताइन्छ । आले र बलायर डोटीबाट चुनाव लड्ने नेता हुन् । डोटीमा एउटै चुनाव क्षेत्र भएका कारणले तालमेल हुँदा भोलि आलेले टिकट पाउने संभावना भएकोले बलायर सुरुदेखि नै तालमेलको विपक्षमा रहेका छन् ।

लोकप्रिय