स्थानीय तहको निर्वाचनको लागि देशभर पर्यवेक्षक खटाईने

स्थानीय तहको निर्वाचनको लागि देशभर पर्यवेक्षक खटाईने

 

काठमाडौ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ई.ओ.सि.नेपाल) ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ ।
यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘निर्वाचन पर्यवेक्ष्ँण समिति नेपाल (ई.ओ.सि.नेपाल)ले आसन्न २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीयतहको निर्वाचनका लागि निर्वाचनको पर्यवेक्षको अन्तिम तयारीमा जुटेको छ । हालसम्म ईओसि नेपालले ४० वटा जिल्लामा ४० जना पर्यवेक्षकहरु लामोसमयका लागि नियुक्त गरी परिचालन समेत गरिसकेको छ । लामोसमयका पर्यवेक्ष्ँहरुको लागि यहि वैशाख ८ र ९ गते प्रशिक्षण सम्पन्न गरी परिचालन गरेको हो । त्यसै गरी छोटो समयका लागि ७७ वटै जिल्लामा ईओसि नेपालले पर्यवेक्षण गर्ने छ । त्यसको लागि ४०० चारसयजना पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको छ ।’
ई.ओ.सि. नेपालका अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको स्मरण गराए । स्थानीय तहको निर्वाचनको लागि संस्थाको पर्यवेक्षणको तयारी पूरा गरेको जनाए ।
उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाईसकेको जनाए । उनले भने, ‘उहाँहरुले एक महिना हेर्नुहुन्छ र प्रतिवेदन पठाउनुहुन्छ । ७७ वटै जिल्लामा ४०० सय जना छोटो अवधिका पर्यवेक्षकहरु खटाउँछौं । उम्मेद्धवारी दिने दिनदेखि मत परीणाम आउने बेलासम्मको पर्यवेक्षण गरिनेछ ।’ उनले निर्वाचन आचारसंहिताविपरित प्रचारप्रसार भएको गुनासो पोखे । निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरु खटिने आफूहरुले विश्वास लिएको उनको भनाई छ।
संस्थाका कार्यकारी सदस्य राजाराम बर्तौलाले संविधानसभा हुँदाको अवस्थादेखि नै आफ्नो संस्थाले लोकतन्त्रको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै विशेषतः निर्वाचन प्रणालीसम्बन्धी विशेषज्ञको रुपमा काम गरेको स्पष्ट पारे । बर्तौलाले संविधानसभाको निर्वाचनमा पनि आफ्नो संस्थाले निर्वाचन पर्यवेक्षणको काम गरेको स्पष्ट पारे ।
२०७४ को तीनै तहको निर्वाचनमा पनि संस्थाले धेरैजसो जिल्लामा पर्यवेक्षकहरु खटाएर पर्यवेक्षण गरेको उनले स्मरण गराए । अहिले निर्वाचन महँगो भयो भनेर भनिएपनि आफूहरुले ०७४ को निर्वाचनको दौरानमा गरेको अध्ययन स्मरण गराउँदै अहिले निर्वाचन महँगो भयो भनेर आफूहरुकै रिपोर्टकै आधारमा आम मानिसबाट अभिव्यक्ति आएको उनको दाबी छ।
उनले निर्वाचन लोकतन्त्रको संस्थागत विकासतर्फको यात्रा भएको पनि उल्लेख । उनले निर्वाचनको क्रममा संस्थाले समावेशिताको विषयमा पनि गहन अध्ययन गरेर प्रतिवेदन तयार पार्ने बताए । निर्वाचनको खर्च विगतभन्दा बढेको छ कि घटेको छ भन्नेबारे पनि यसपटकको निर्वाचनमा फलोअप स्टडी गरिने उनको भनाई छ । त्यस्तै, मतदाताहरुको ट्रेण्डपनि हेरिने र मतदातारुले मत हाल्नको लागि केलाई आधार बनाएका छन् भनेर अध्ययन पनि गरिने उनले स्पष्ट पारे ।
निर्वाचनको क्रममा ईओसि नेपालले विभिन्न क्षेत्र र विषयगत रुपमा आफ्नो ध्यान केन्द्रित गर्ने पनि जनाएको छ । ईओसि नेपालले निर्वाचनको क्रममा निर्वाचनमा उमेद्वारी चयनदेखि मत परिणामको घोषणासम्मका प्रकृया र गतिविधिहरु नियाल्ने जनाएको छ। त्यस्तै, निर्वाचन नियमावली र समग्र निर्वाचन आचारसंहिताको पालना राजनैतिक दल र उमेद्वारहरुवाट भईरहेका छन वा छैनन भनेर पनि हेर्ने भएको छ ।
उसले निर्वाचन अभियानमा दल र उमेद्वारले गर्ने खर्चको सम्वन्धमा पनि हेर्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनको सिलसिलामा उमेद्वारी मनोनयनदेखि उमेद्वारले नाम फिर्ता लिने समयसम्म राजनीतिक दल तथा उमेद्वारहरुको अभिव्यक्ति र गतिविधिहरुप्रति उक्त संस्थाले आफ्नो ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ । त्यस क्रममा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु प्रशस्तै भएको पाईएको पनि जनाईएको छ ।
संस्थाले निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरुलाई समयमै नियन्त्रण गर्नका लागि पहल गर्न निर्वाचन आयोगलाई अपिल गरेको छ । साथै, उसले राजनैतिक दल तथा उमेद्वारहरुलाई निर्वाचन आचार संहिताको अक्षरसः पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आआफ्नो ठाँउवाट पहल गर्न समेत अपिल गरेको छ ।

लोकप्रिय