मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवामा
काठमाडौं । भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान भैरहवा आएको हो ।
आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो ।
३० जनाको सुरक्षा टोलीले जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोह स्थलको सुरक्षा ब्यवस्थाको अवलोकन तथा अध्ययन गर्ने र जेठ ३ गतेसम्म लुम्बिनीमै बस्ने बुझिएको छ ।
विमान भने सुरक्षा टोलीलाई अवतरण गराएर भारत फर्किएको छ । यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणका लागि जेठ २ मा हेलिकोप्टरबाट सिधै लुम्बिनी जाने भएका छन् ।
मोदी दिल्लीबाट विमानमा लुम्बिनीको पारिपट्टि उत्तर प्रदेशको कुशीनगरसम्म विमानमा आउने र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी आइपुग्ने तयारी छ ।
भैरहवाको हवाई रुट ‘ब्राभो ३४५’ लाई दुईतर्फी बनाउने नेपालको प्रयासलाई भारतीय अधिकारीले नरोकेको भए सम्भवतः उनी विमानबाट सोझै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने थिए । भर्खरै निर्माण सम्पन्न भएको लुम्बिनी छेवैको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि नै कुवेतको जजिरा एयरवेजले व्यावसायिक उडान गर्दै छ ।


प्रतिकृया दिनुहोस्