इम्बोस्ड नम्बरमा धम्कीको भाषा खारेज : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना निकालेको थियो । मन्त्रालयले समस्या समाधान नगरी जनतालाई धम्कीको भाषा दिएको भन्दै सांसद थापाले आपत्ति जनाएका छन्।
‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ,’ सांसद थापाले आज प्रतिनिधि सभा बैठकमा भने, ‘जवरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’ उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा पाँच÷छ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताए ।
‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ । तत्काल पुनरावलोकन होस्,’ उनले भने, ‘पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस् ।
जनशक्ति थपियोस्।’गण्डकी र बागमतीको यातायात कार्यालयमा दर्ता सवारी साधनले साउन १ भित्र इम्बोस्ड नम्बर नलिए कारबाही चेतावनी यातायात विभागले दिएको थियो ।बंगलादेश र अमेरिकाको कम्पनीले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का लिएको थियो । १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गर्न सम्भव नरहेको पनि थापाले बताएका छन् ।


प्रतिकृया दिनुहोस्