एकीकृत समाजवादीले फिर्ता बोलाएको चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले किन रोके ?
काठमाडौ । गत आइतबार दिउँसो सवा तीन बजे २४ घण्टाभित्रै नेकपा एकीकृत समाजवादी चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सनसनीपूर्ण रूपमा फैलियो । सम्मानित नेता झलनाथ खनालले सचिवालय बैठकको हवाला दिँदै २४ घण्टाभित्रै चार मन्त्री फिर्ता बोलाउने निर्णय भएको खबर सार्वजनिक गरे ।
त्यति बेलासम्म एकीकृत समाजवादीका पर्यटन मन्त्री प्रेम आले, श्रम मन्त्री किसान श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडाले सुइँको समेत पाएका थिएनन्। पार्टी निर्णय मिडिया मार्फत थाहा पाए लगतै पर्यटन मन्त्री आले, स्वास्थ्य मन्त्री विरोध खतिवडा र सहरी विकास मन्त्री झाँक्री मन्त्रालयबाट सिधै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय तीनकुने पुगे । त्यतिबेला नेपालले चार नयाँ मन्त्रीको लिष्ट कोटको खल्तीमा राखिसकेका थिए ।
त्यस लगतै पार्टीको लेटर प्याड सहित नयाँ मन्त्रीको लिष्ट उपमहासचिव विजय पौडेल र उपाध्यक्ष प्रमेश हमाल बोकेर प्रधानमन्त्रीको सचिवालयमा लगेर बुझाए । जसमा पर्यटनमन्त्रीमा जीवनराज श्रेष्ठ, श्रम मन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी थिए । तर पार्टी निर्णय नमान्ने भन्दै आले, खतिवडा र झाँक्रीले आपत्ति जनाएको पार्टीका नेताहरूले बताएका छन् ।
‘‘एकीकृत समाजवादीमा मन्त्री फेर्ने कुरा स्थानीय चुनाव अघि नै चर्चा थियो । त्यसपछि चुनावपछि फेरौला भन्ने अण्डरस्ट्रयाडिङ भयो,’ एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने, ‘पार्टी सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गर्यो । त्यो निर्णय गोप्य राख्ने भनियो । तर जेएन कमरेडले सार्वजनिक गर्नुभयो ।’ पार्टी निर्णय गोप्य राख्दा नसक्दा अपरिपक्व निर्णय जस्तो हुन पुगेको ती केन्द्रीय सदस्यले बताए ।
एकीकृत समाजवादीबाट नयाँ मन्त्रीको शपथ हुने भएपछि असन्तुष्टि जनाउँदै आइतबार बेलुका खतिवडा र आले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । बजेट पारित नहुँदै मन्त्री फेर्न सम्भव नहुने भन्दै प्रचण्डलाई कन्भिन्स गरेको बुझिएको छ ।
सोमबार बिहानै मन्त्री आले, श्रेष्ठ र झाँक्री प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । आफ्नो पद थमौती गर्न ती मन्त्री देउवालाई भेट्ने पुगेको बालुवाटार स्रोतले जनाएको छ । एकीकृत समाजवादीका मन्त्री बाहिर लगतै प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड सहित नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका थिए ।
देउवाले बजेट पारित नहुँदै नयाँ मन्त्रीको शपथ लिन नसकिने जवाफ फर्काएपछि चार मन्त्रीको थमौती भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्