स्वास्थ्य बीमा अभियान अन्तर्गत बीमा बोर्डबाट रकम नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाई

स्वास्थ्य बीमा अभियान अन्तर्गत बीमा बोर्डबाट  रकम नपाएपछि धुलिखेल अस्पतालमा उपचार सेवा दिन कठिनाई

काठमाडौँ । सरकारले लागू गरेको स्वास्थ्य बीमा अभियानअन्तर्गत धुलिखेल अस्पतालमा उपचार सेवा लिएका बिरामीको नाममा पाउनुपर्ने रकम बीमा बोर्डबाट नपाएका कारण अब सेवा दिन कठिनाइ भएको धुलिखेल अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले बिहीबार पत्रकार सम्मेलन गरी २०७४ सालदेखि बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा उपलब्ध गराउँदै आएको भए पनि अहिलेसम्म बोर्डमार्फत प्राप्त गर्नुपर्ने करिब रु २५ करोड रकम प्राप्त नहुँदा अस्पतालबाट प्रवाह हुने सेवामा समस्या उत्पन्न हुने अवस्थामा पुगेको जानकारी दिएको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश माकाजु श्रेष्ठले बीमाको कारण समस्या भएको उल्लेख गर्दै सेवामा विचार गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

“सरकारलाई आर्थिकभार नपर्ने गरी आमा सुरक्षा, सामाजिक सुरक्षा, विपन्न नागरिक उपचार सेवा, स्वास्थ्य बीमालगायत कार्यक्रम अस्पतालबाट सञ्चालन गर्दै आएका छौँ”, उनले भने, “हाल आएर स्वास्थ्य बीमा सेवाको रु २५ करोड भुक्तानी समयमै नभएका कारण सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छौँ ।”

धुलिखेल अस्पतालको व्यवस्थापन समितिको २०७९ जेठ ३१ गतेको बैठकले सो रकम यसै आर्थिक वर्षमा उपलब्ध नभए आवश्यक सामानको परिपूर्ति नभई सेवा नै ठप्प हुने अवस्थामा पुग्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । बीमा बोर्डबाट पाउनुपर्ने रकम अबको १५ दिनभित्रमा भुक्तानी नभएमा अस्पतालबाट आङ्शिक सेवा मात्रै उपलब्ध हुने र असार मसान्तसम्ममा भुक्तानी नभएमा साउन १ गतेदेखि बीमा सेवालाई निरन्तरता दिन नसकिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्या दैनिक बढ्दै जानु र अर्कातर्फ विमितले अस्पताल सेवा केन्द्रको पहिलो प्राथमिकतामा धुलिखेल अस्पताललाई रोज्ने गरेका कारण सेवाग्राहीको चाप बढ्दै गएको बताए । उनका अनुसार दैनिक एक हजारदेखि एक हजार १०० जनासम्मलाई सेवा दिन सकिने क्षमता रहेको अस्पतालमा अहिले दैनिक एक हजार ३०० भन्दा बढीलाई सेवा दिनुपर्दा गुणस्तरमा प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । सेवा प्रदान गरेकामध्ये एक लाख २८ हजार २४५ सेवाग्राहीको सेवावापतको रकम प्राप्त हुन बाँकी छ ।

अस्पतालका अर्थोपेडिक सर्जन डा दीपक श्रेष्ठले स्वास्थ्य बीमा लागू भएका जिल्लाका नागरिकले पहिलो सम्पर्क केन्द्रका रूपमा धुलिखेल अस्पताललाई छनोट गर्ने गरेकाले सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । अस्पतालका मुटुरोग विशेषज्ञ डा राजेन्द्र कोजुले सम्पूर्ण जनतालाई स्वास्थ्यले समेट्नुपर्छ भनेर आएको र जो गरिबीको रेखामुनि छन् उनीहरूलाई पूर्णरूपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उद्देश्यले आएको अभियानले सर्वसाधारणलाई समेट्दै जानु ठूलो उपलब्धि भएको उल्लेख गरे । सेवा प्रवाहमा आएको समस्या समाधान गर्न सबै पक्षले सोच्न जरुरी भएको उनको भनाइ छ ।

लोकप्रिय