सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना हुदै
सुर्खेत। केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो ।
आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काकाअनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएका छन् ।
‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र स्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि छ,’ खड्काले भने, ‘कर्णाली प्रदेशको भौगोलिक अनेकता, सांस्कृतिक विविधता यहाँका जनजीवनको कथालाई काठमाडौंका सिनेकर्मीभन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन् भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माएर उनीहरु मार्फत कर्णालीको जनजीवनका कथालाई नेपालसहित विश्वमा पुर्याउन यो चलचित्र कार्यशाला आयोजना गरिएको हो ।’
दूरसञ्चार प्राधिकरणको सहआयोजना तथा चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा कार्यशाला सम्पन्न हुने खड्काले बताए ।


प्रतिकृया दिनुहोस्