सभामुख अग्निप्रसाद सापकोटासहितको टोली अजरबैजान प्रस्थान
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासहितको टोली अजरबैजान प्रस्थान गरेका छन्।उक्त टोलीमा सांसद पुष्पा भुसाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहेका छन्।
अजरबैजानको राजधानी बाकुमा हुने कार्यक्रममा भाग लिन सभामुख सापकोटा नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।अजरबैजानको संसदले आयोजना गरेको सम्मेलन असार १६ गतेदेखि १८ गतेसम्म चल्नेछ।संघीय संसद सचिवालयका अनुसार सभामुख सापकोटा आज बिहान ११;१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अजरबैजान प्रस्थान गरेका हुन्।
सम्मेलनमा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछन्।सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।
सभामुखसहित टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले आज बिदाइ गरेका छन्।उक्त टोली असार १९ मा नेपाल फर्कने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले बताए।



प्रतिकृया दिनुहोस्