माओवादी र काग्रेसका सांसदले मुख्यमन्त्री परिवर्तनको तयारीका लागि हस्ताक्षर संकलन
हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको तयारी सुरु भएको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै माओवादी र काग्रेसका सांसदले मुख्यमन्त्री परिवर्तनको तयारी थालेका हुन् । तयारी अनुसार बिहीबार दुवै दलले मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन गरेका छन् ।
सांसद सिता अधिकारीका अनुसार आलोपालो सरकार चलाउने सहमति गरेपछि अहिले मुख्यमन्त्री पाण्डेले बाटो खोलिदिनु पर्नेमा आलटाल गरेका कारण हस्ताक्षर संकलन थालिएको बताइन् । उनले भनिन्, ‘दलका नेताबाट मुख्यमन्त्री परिवर्तनको कुरा छ हस्ताक्षर गर्न भनेपछि हामी सबैले हस्ताक्षर गरेर दलको कार्यालयमा बुझाएका छौं ।’
प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी रहेको सांसद अधिकारीले बताइन् । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए ।
नेकपा माओवादी केन्द्रका एक सांसदले अनलाइनखबरसँग भने, ‘भोलि प्रक्रिया पूरा गर्नुपर्यो भने, वर्षाको बेला छ, सबै सांसदहरु उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।’
आर्थिक वर्ष २०७८र०७९ को बजेट पास भएपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् ।नेकपा एकीकृत समाजवादीका नेता पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।
कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने बताएपछि हस्ताक्षर संकलन गरिएको काग्रेसका एक सांसदले बताएका छन् ।


प्रतिकृया दिनुहोस्