ऊर्जा मन्त्री भुसाल र भारतका नवनियुक्त राजदूतको भेटवार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा गरिन् ।
मन्त्री भुसालले भनिन्, “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालिन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्त्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।” उनले पञ्चेश्वर जलविद्युत परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।


प्रतिकृया दिनुहोस्