काँग्रेसकी भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

काँग्रेसकी  भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

काठमाडौ । प्रतिनिधि सभाका उपसभामुख  चयनको प्रक्रिया अघि  बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार   आज बिहान  ११ देखि   अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन आजै हुने छ ।

शुक्रबार अपराह्न ३ बजेको  बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो ।  २०७६  माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले  राजीनामा दिएपछि पद रिक्त थियो  ।

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद  सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधि सभाको  सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको   हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । काँग्रेसका एक पदाधिकारीका अनुसार काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ

लोकप्रिय