कर्णालीका स्थानीय तहहरुले करारका कर्मचारी हटाउदै
सुर्खेत । कर्णालीका स्थानीय तहहरुले करारका कर्मचारी हटाउन थालेका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई हटाउन थालिएको हो । गत ३१ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गर्न थालेका हुन् ।
दैलेखको ठाटीकाँध गाउँपालिकाले करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको २८ असारमा बसेको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी भइई करारमा कार्यरत कर्मचारीहरुको १ साउनबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले बताए ।
गाउँपालिकाले गरेको पत्राचारमा करार सम्झौता थप नहुने निर्णय भएकालेले अर्को निर्णय नभएसम्मको लागि कार्यालयमा हाजिर भई कामकाज नगर्न भनिएको छ । हाजिर भएमा गाउँपालिकाबाट तलब भत्ता भुक्तानी नहुने प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । उनका अनुसार प्राविधिक शाखाको सब–इन्जिनियर र तत्कालीन जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेक सबै, पोषण शाखाका सबै, उद्यम विकास शाखा (शाखा प्रमुख बाहेक), हलुका सवारी चालक सबै (एम्बुलेन्स चालक बाहेक), ईलेक्ट्रिसियन कर्मचारी, सामुदायिक स्वास्थ्य इकाई प्याडुलीका इन्चार्ज र ज्यालादारीमा कार्यरत सबै कर्मचारीको करार सम्झौता नहुने निर्णय भएको हो ।
कालिकोटको शुभकालिका गाउँपालिकाले पनि करारका कर्मचारी हटाएको छ । ११ असारमा बसेको गाउँ सभाको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाको खुद समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा कार्यरत कर्मचारीहरूको १ साउनबाट करार सम्झौता नवीकरण नहुने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताए ।


प्रतिकृया दिनुहोस्