प्रेस युनियनमा रोचक भिडन्त, कसले मार्ला बाजी ?
काठमाडौ । नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन २०७९ साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । आठ बर्षदेखि हुन नसकेको र पटकपटक मिति तोक्दै सर्दै आएको युनियन महाधिवेशन यसपटक भने निश्चित भएको छ ।
महाधिवेशनका लागि देशभरबाट एक हजार ६ सय २० जना महाधिवेशन प्रतिनिधि चयन भैसकेका छन् । संस्थापन (सभापति शेरवहादुर देउवा)पक्षबाट आठ सय ५० र संस्थापन इतर (डा. शेखर कोइराला, गगन थापा) पक्षबाट आठ सय केन्द्रीय प्रतिनिधि चयन भएको पछिल्लो पल्ट जोडघटाउ भएको छ । यसबीच प्रेस युनियनको नेतृत्वमा पुग्न कयौं आकांक्षीहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्षका लागि शिव लम्साल, अनिता विन्दु, दीपक आचार्य, ईश्वरी ओझा, सरोज अधिकारी, रामप्रसाद दाहाल, सन्तोष न्यौपाने र भुवन भट्ट आकाँक्षी देखिएका भएपनि अन्तिममा लम्साल र अनिता विन्दुबीच प्रतिस्पर्धा हुने युनियन स्रोतको भनाई छ ।
संस्थापन पक्षबाट अनिता विन्दु र इतर समूहले शिव लम्साललाई अध्यक्षमा उठाउने बलियो संभावना देखिएको छ । संस्थापनबाटै सरोज अधिकारीले पनि सिग्देलमार्फत व्यापक लबिङ गरिरहेको जनाइएको छ ।
यसैबीच युनियनको वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल र निरज खतिवडा प्रतिश्पर्धामा उत्रने पक्कापक्की भएको छ । महिला उपाध्यक्षमा भने कल्पना शर्मा, दिलिपाश्री अधिकारी र सलोजा दाहालले रहर गरेका छन ।
महासचिवमा शिवराज योगी, खिला कार्की, दिलिप पौडेल, नकूल अर्याल, भिष्मराज ओझा, रमेश वाग्ले र विमल ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् । यद्यपि संस्थापन पक्षबाट शिवराज योगीको नाम चर्चामा रहेको छ भने संस्थापन इतर पक्षबाट खिला कार्की वा नकुल अर्यालको नाम चर्चामा रहेको छ ।
उपमहासचिवमा भुवन शर्मा, सुलोचना गौतम, युवराज गौतम, कुसुम बिक (सेन्चुरी)ले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा खगेन्द्र भण्डारी, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, तीर्थराज बस्नेत, एलपी देवकोटा, कालिका महत, राधा खनाल, विजय रेग्मी, टिकाराम सुनार लगायतको दाबी छ ।
यस्तै कोषाध्यक्षमा मित्र भण्डारी, पदम जोशी, जानुका बराल, माधव धितालले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा कालिका महतले उम्मेदवारी घोषणा गरेका छन् भने अन्यले पनि उम्मेदवारी घोषणा गर्नेक्रम अझै जारी छ ।


प्रतिकृया दिनुहोस्