सुरक्षा श्रमिकको टेण्डर प्रक्रियामा कृषि बैंकको अधिकारी र ठेकेदारबीच मिलेमतोको आरोप

सुरक्षा श्रमिकको टेण्डर प्रक्रियामा कृषि बैंकको अधिकारी र ठेकेदारबीच मिलेमतोको आरोप

काठमाडौ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्टु) ले नेपाल राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने कृषि विकास बैंकका कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको छ ।
नेष्टुले झण्डै एक हजार श्रमिकहरुले २०७८ साउनदेखि १३ हजार ४ सय ५० मा १५५० वृद्धि गरी मासिक १५ हजार पु¥याएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरी टेण्डर खोलिएको र यसमा आवाज उठाउनेमाथि नै डण्डा बर्साउने काम भएको आरोप लगाएको छ ।
नेष्टुले श्रमिकहरुमाथि गरिएको शोषणको विरुद्धमा सशक्त आवाज उठाउने र परि आए ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ । नेष्टुले टेण्ड प्रक्रियामा भएको बदमासीको बारेमा भनेको छ,‘टेण्डर पनि सुनियोजित ढंगले ६ वटा क्षेत्रमध्ये तीन वटा क्षेत्र गरुड नामक कम्पनीलाई पार्नेगरि सो अनुकुलको मापदण्ड तयार गरी बैंकका कर्मचारीको मिलिभगतमा टेण्डर पार्ने काम भयो । विगत लामो समयदेखि कार्यरत श्रमिकहरुले न न्यूनतम पारिश्रमिक पए, न रोजगारी नै रह्यो । गरुडले श्रमिकहरुको रोजगारी मात्रै खोसेन, श्रमिकहरुलाई पोष्ट, पोष्टमा धम्क्याउने र तर्साउने काम पनि गर्यो ।’
नेष्टुले गरुड सेक्युरिटीले ठेक्काको नाममा पुराना श्रमिकहरुलाई कृषि विकास बैंकको निर्देशनमा निकाल्न काम गरेको पनि आरोप लगाएको छ ।
नेष्टुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पुराना श्रमिकहरुले श्रम कानूनअनुसार सेवा तथा सुविधा माग्छन् भने सुनियोजित ढंगले कउषि विकास बैंकले योजना बनाएर छानीछानी श्रमिकहरु निकाल्न निर्देशन दिएबमोजिम गरुड कम्पनीले कार्यान्वयन गरेको देखिन्छ । राज्यको ५१ प्रतिशत शेयर र जनताको शेयर रहेको कृषि विकास बैंकमा विगत लामो समयदेखि कार्यरत श्रमिकहरु ठगिएका मात्रै होइनन्, भएको रोजगारी समेत गुमाउन परेको छ । तर, सम्बन्धित निकाय मुकदर्शक बनेको छ ।’
नेष्टुले ५५ करोडको ठेक्कामा कृषि विकास बैंकले आफूलाई मनपरेको श्रमिक आपूर्तिकर्तालाई सोझै ठेक्का पाउने मापदण्ड राखेर टेण्डर गरेको भन्दै त्यसलाई कानूनविपरितको कार्यको संज्ञा दिएको छ । यो प्रकरणमा भएको अनियमितताबारे छानिबन गरेर सबै कुरा बाहिर ल्याउनुपर्नेमा जोड दिईएको छ । अख्तियारमा जाने र दोषीलाई कानूनी कठघरामा उभ्याउने चेतावनी दिएको छ ।

लोकप्रिय