आइक्यानको सपथ ग्रहण तथा बिपीए अवार्ड वितरण कार्यक्रम सम्पन्न

आइक्यानको सपथ ग्रहण तथा बिपीए अवार्ड वितरण कार्यक्रम सम्पन्न

 

काठमाडौँ । नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा भाष्कर सिंह लाला र उपाध्यक्षमा सुजन कुमार काफ्ले निर्वाचित भएका छन् । केहि समय अगाडी भएको निर्वाचनमा भाष्कर सिंह लाला निर्विरोध निर्वाचित भएका हुन् भने सुजन कुमार काफ्ले प्रतिद्वन्दी पियुष आनन्दलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष लाला यसअघि संस्थाको उपाध्यक्ष थिए ।
यसै बीच अध्यक्ष लाला र उपाध्यक्ष काफ्ले दुबैले आफ्नो पद तथा गोपनियताको सपथ खाएका छन् । शुक्रबार काठमाडौँ माआयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले पद तथा गोपनियताको सपथ खाएका हुन् । सपथ ग्रहणपछि कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्षले आफ्नो कार्यकालमा समग्र लेखा व्यवसायको हितका लागि काम गर्ने बताउँदै यस काममा सबैलाई साथ दिन आह्वान गरेका छन् ।
उनले आफुलाई उपाध्यक्ष हुँदा सबैभन्दा बढी साथ दिने संस्थाका तत्कालीन अध्यक्ष युद्धराज ओली लगायत आइक्यानका सबै कर्मचारी, तथाअन्य सरोकारवालाहरुलाई धन्यवाद समेत दिएका थिए । आफुलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गराउन सहयोग दिने सबै प्रति आभार प्रकट गरेका उनले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन आफुले कुनै पनि कसर बाँकी नराख्ने समेत उद्घघोष गरेका छन् ।
साथै कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्लेले पनि आफुलाई संस्थाको उपाध्यक्ष पदमा निर्वाचित गराउने सबैलाई धन्यवाद दिएका छन् । संस्थाको उपाध्यक्ष भएसँगै जिम्मेवारी पनि बढेको आभाष भएको बताउँदै उनले आफुले भ्याएसम्मको काम गरेर आफ्नो कार्यकालमा लेखा व्यवसायको सेवा गर्ने बताएका छन् ।
उपाध्यक्ष काफ्ले अव आइक्यानका तर्फबाट नेपाल धितोपत्र बोर्डका संचालक समेत हुनेछन् । धितोपत्र बोर्डमा आइक्यानका उपाध्यक्ष संचालकका रुपमा संस्थाको प्रतिनिधि भएर जाने चलन छ ।
साथै कार्यक्रममा २० बर्षभन्दा बढी आइक्यानमा रहेर कामगर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदकले सम्मान समेत गरिएको थियो भने संस्थामा सुरुवाती चरणदेखि नै महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका पूर्व कार्यकारी निर्देशक लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने संस्थाहरुलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बिपीए) अवार्डसमेत प्रदानगरिएको थियो । सो अवार्ड बैंकिङ क्षेत्र तर्फ सिद्धार्थ बैंकले पाएको छ भने मेगा बैंक लिमिटेड र सनराइज बैंकले क्रमशः दोश्रो र तेश्रो अवार्ड प्राप्त गरेका छन् ।

यस्तै फाइनान्सियल क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड मुक्तिनाथ बिकास बैंकले पाएको छ । बैंकले तेश्रोपटक यो अवार्ड हातपार्न सफलभएको हो । यस्तै सो अवार्डमा ज्योति बिकास बैंक लिमिटेड दोश्रो बन्न सफल भएको छ । यता, इन्स्योरेन्स तर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ भने जनरल सेक्टरतर्फ बोटलर्स नेपाल तराई लिमिटेडले तेश्रो अवार्ड प्राप्तगर्न सफलभएको थियो । यस्तै जनरल सेक्टरतर्फ दोश्रो स्थानको अवार्ड कर्जा सूचना केन्द्र लिमिटेडले पाएको छ भने बुटवल पावर कम्पनी लिमिटेडले प्रथम स्थान हाँसिल गर्दै सो अवार्ड प्राप्त गरेको छ ।

लोकप्रिय