साफ यू–२० च्याम्पियनसिप फुटबल खेल नेपालले आज भारतसँग खेल्दै

साफ यू–२० च्याम्पियनसिप फुटबल खेल नेपालले आज भारतसँग खेल्दै

 

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले तेस्रो खेलमा आइतवार घरेलु टोलीसँग खेल्दैछ । भुवनेश्वरमा भइरहेको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे शुरू हुनेछ । नेपाल आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिदै छ । यसअघिको दुई वटा खेल जितेको टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने प्रशिक्षक मेघराज केसीले बताए ।

नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो ।

फाइनल पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपूर्ण छ । भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ । सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।

तीन खेल जित्दै ९ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ । दुई खेलबाट ६ अंक जोडेर नेपाल दोस्रो स्थानमा छ । भारत दुई खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । माल्दिभ्स र श्रीलंकाबीच पनि आइतवार नै खेल हुने छ । उनीहरूबीचको खेल सवा ४ बजे शुरू हुनेछ ।

लोकप्रिय