माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतवार) बस्दै छ । आइतवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।आइतवारको बैठकमा पोलिटब्युरो र पदाधिकारी गठनका साथै अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा छलफल हुने एक नेताले बताए । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा स्थायी कमिटी र पोलिटब्युरोलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् ।

माओवादी केन्द्रको भागमा परेको अर्थमन्त्रालय हाल खाली छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै विरोध भएपछि राजीनामा दिएका थिए ।उक्त सम्बन्धमा गठित संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता नभएको निष्कर्ष निकालेको थियो ।

उक्त आरोपबाट शर्माले सफाइ पाएपछि उनैलाई पुनः अर्थमन्त्री बनाउने चर्चा चलिरहेको छ । आइतवारको बैठकले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।

लोकप्रिय